सुनसरी । राष्ट्रिय स्कुल च्याम्पियनसिप सुनसरी क्रिकेट छनोट प्रतियोगिताको उपाधि नेपाल डिभिएम स्कुलले जितेको छ ।
घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको डिभिएमले निर्धारित १० ओभरमा ६ विकेट गुमाउँदै ८६ रन बनाएको थियो । डिभिएमका लागि स्वर्णिम कँडेलले सर्वाधिक २७ रनको योगदान दिए भने आयुष पोखरेलले १७ र दिवस विष्टले १२ रन जोडे ।
८७ रनको लक्ष्य पछ्याएको जनता मावि डिभिएमका बलरहरूको कसिलो प्रदर्शनसामु दबाबमा पर्दै निर्धारित १० ओभरमा ६१ रनमा सीमित भयो । लक्ष्य रक्षा गर्ने क्रममा डिभिएमले बलिङ र बिल्डिङ दुवै विभागमा उत्कृष्ट प्रदर्शन गर्दै २५ रनको जित निकाल्न सफल भयो ।
प्रतियोगितामा जनता माविका एसान खान सर्वोत्कृष्ट खेलाडी (म्यान अफ द टुर्नामेन्ट) घोषित भए । सुनसरी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा जिल्लाका २० वटा विद्यालय सहभागी भएको प्रतियोगिता संयोजक गोविन्द पौडेलले जानकारी दिए ।
विद्यालय स्तरमा क्रिकेट प्रतिभाको पहिचान र विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगिताले जिल्लामा विद्यालय क्रिकेटको आकर्षण र प्रतिस्पर्धात्मक स्तर बढाउन महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास छ ।
प्रतियोगिताको उपाधिसँगै डिभिएमले राष्ट्रिय स्कुल च्याम्पियनसिपको प्रदेशस्तरीय छनोटमा सुनसरी जिल्लाको प्रतिनिधित्व गर्ने भएको छ ।
