सुनसरी । राष्ट्रिय स्कुल च्याम्पियनसिप सुनसरी क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलबाट नेपाल डिभिएम स्कुल र जनता माध्यमिक विद्यालय इटहरी फाइनलमा प्रवेश गरेका छन् । अब उपाधिका लागि यी दुई चिरप्रतिद्वन्द्वी टोलीबीच शनिबार प्रतिस्पर्धा हुने भएको छ ।
पहिलो सेमिफाइनलमा नेपाल डिभिएम स्कुलले कोशी सेन्ट जेम्स स्कुललाई १० विकेटले पराजित गर्दै सहज रूपमा फाइनल यात्रा तय गर्यो । टस जितेर ब्याटिङ गरेको कोशी सेन्ट जेम्सले १० ओभरमा ७ विकेट गुमाएर ४९ रन मात्र बनाउन सक्यो। टोलीका कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
डिभिएमका लागि शंकर पाण्डे र दिवस बिष्टले समान २–२ विकेट लिए भने युनिस खड्का र डेनिस बुढाथोकीले १–१ विकेट हात पारे । टोलीका आयुष पोखरेलले १७ बलमा २६ रन तथा गिरिस भट्टराईले ११ बलमा १७ रनको योगदान दिए ।
यता दोस्रो सेमिफाइनलमा जनता मावि इटहरीले विश्व आदर्श स्कुललाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो ।
यससँगै विद्यालय क्रिकेटका दुई स्थापित टोली डिभिएम र जनता माविबीच उपाधिका लागि पुनः प्रतिस्पर्धा हुने भएको छ । यी दुई टोली यसअघि दुई पटक फाइनलमा आमनेसामने भएका छन् ।
यसअघि दोस्रो संस्करणको डिभिएम कपमा आयोजक डिभिएम बिजयी भएको थियो भने कस्तुरी कपमा जनता माबि बिजयी भएको थियो । दुवैले एक–एक पटक उपाधि जितेकाले यसपटकको फाइनललाई थप रोचक र प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ ।
सुनसरी जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगितामा जिल्लाभरका २० विद्यालयको सहभागिता छ ।
