काठमाडौं । तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति यु–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिता’को दोस्रो दिन बुधबार ६ खेल सम्पन्न भएका छन् ।
माथिल्लो र तल्लो मूलपानी क्रिकेट मैदान तथा त्रिवि क्रिकेट मैदानमा भएका खेलमा नेपाल पुलिस स्कुल, जेम्स स्कुल, त्रियोग उच्च माध्यमिक विद्यालय, रेडियन्ट रिडर्स स्कुल, केएमसी स्कुल र एन्जल्स हार्ट नेसनल स्कुल विजयी भए ।
माथिल्लो मूलपानीमा पुलिस र जेम्सको जित
नेपाल पुलिस स्कुलले द सेलिब्रेसन सहशिक्षा विद्यालयलाई ६४ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गर्यो । १३८ रनको लक्ष्य पछ्याएको द सेलिब्रेसन १४.५ ओभरमा ७३ रनमै अलआउट भयो । पुलिसका सुनिल ठाकुर र सागर सिंहले समान २–२ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको पुलिस १८ ओभरमा १३७ रनमा समेटिएको थियो। सुनिल ठाकुरले सर्वाधिक ३९ रन बनाए । द सेलिब्रेसनका कृष्ण हमालले ४ विकेट लिए ।
जितसँगै समूह ‘जी’मा रहेको पुलिसले पहिलो खेलबाट दुई अंक जोडेको छ । सोही मैदानमा जेम्स स्कुलले अक्षारिका स्कुललाई १२५ रनले पराजित गर्यो । जेम्सले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो ।
कप्तान सुदिश पौडेलले सर्वाधिक ३६ रन बनाए । जवाफमा १५० रनको लक्ष्य पछ्याएको अक्षारिका १०.५ ओभरमा २४ रनमै समेटियो । जेम्सका प्रचेत नाखोटिया र स्वराज चौलागाईंले समान ३–३ विकेट लिए । यो जितसँगै जेम्सले सेमिफाइनल यात्राको सम्भावना बलियो बनाएको छ ।
तल्लो मूलपानीमा त्रियोग र रेडियन्ट सफल
त्रियोग उच्च माध्यमिक विद्यालयले क्रियटिभ एकेडेमीलाई रोमाञ्चक खेलमा २ रनले हरायो । ११९ रनको लक्ष्य पछ्याएको क्रियटिभ १९.१ ओभरमा ११६ रनमा अलआउट भयो । सम्योग अर्यालले ४३ र पियुष राज भट्टाले ४१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।
त्रियोगका आर्यन नेपालले ४ तथा साइमन्ड भण्डारीले ३ विकेट लिए । यसअघि त्रियोग १८.३ ओभरमा ११८ रनमा समेटिएको थियो । दीप गुरुङले सर्वाधिक २६ रन बनाएका थिए । समूह ‘बी’मा रहेको त्रियोगको यो पहिलो जित हो ।
अर्को खेलमा रेडियन्ट रिडर्स स्कुलले नेक्सस इन्टरनेसनल स्कुललाई ४८ रनले पराजित गर्यो । रेडियन्टले अनिल गुरुङको अविजित शतकको मद्दतमा २० ओभरमा १ विकेट गुमाएर १७४ रन बनाएको थियो ।
अनिलले ७३ बलमा १३ चौका र १ छक्कासहित अविजित १०० रन बनाए ।
जवाफमा नेक्सस २० ओभरमा ९ विकेट गुमाएर १२६ रनमा सीमित भयो । रेडियन्टका समीर चौधरीले ३ विकेट लिए । लगातार दोस्रो हारसँगै नेक्सस समूह चरणबाट बाहिरिएको छ ।
त्रिवि मैदानमा केएमसी र एन्जल्स हार्टको दबदबा
केएमसी स्कुलले हिमालयन ह्वाइटहाउस आईबी वर्ल्ड स्कुललाई ६ विकेटले पराजित गर्यो। ९० रनको लक्ष्य केएमसीले १३ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो । कप्तान बिधान सापकोटा ४८ रनमा अविजित रहे भने अमित कुमार दासले अविजित ३२ रन जोडे ।
यसअघि हिमालयन ह्वाइटहाउसले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनाएको थियो। केएमसीका अमित कुमार दासले ३ विकेट लिए । लगातार दोस्रो हारसँगै हिमालयन ह्वाइटहाउस प्रतियोगिताबाट बाहिरिएको छ ।
अर्को खेलमा एन्जल्स हार्ट नेसनल स्कुलले ज्ञान मन्दिर इङ्ग्लिस बोर्डिङ स्कुलमाथि १४७ रनको फराकिलो जित निकाल्यो । एन्जल्स हार्टले १४ ओभरमा २ विकेट गुमाएर १७३ रन बनाएको थियो। कप्तान सन्दीप साउदले ६० बलमा १४ चौका र ४ छक्कासहित अविजित १२६ रनको विस्फोटक इनिङ्स खेले ।
जवाफमा ज्ञान मन्दिर ७.५ ओभरमै २६ रनमा अलआउट भयो । सन्दीप साउद र निरव गर्बुजाले समान २–२ विकेट लिए । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप एन्जल्स हार्टको जितका प्रमुख नायक बने ।
आगामी जेठ २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको मुख्य प्रायोजक एसियन ई–लर्निङ प्रालि रहेको छ भने सह–प्रायोजकमा ई–सेवा रहेको छ । एसोसिएट प्रायोजकका रूपमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड र प्रभु बैंक लिमिटेड रहेका छन् ।
