धनकुटा । धनकुटामा जारी १८औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा आयोजक टिम विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनकुटा सदरमुकामस्थित तल्लो टुंडिखेलमा मंगलवार सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा भारतको जर्जियन फुटबल क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै आयोजक टीम सेमिफाइनलमा प्रवेश गरेको हो ।

आयोजकको जितमा प्रतिक मगर र विपिन जवेगुले १-१ गोल गरेका थिए । पाहुना टोली जर्जियनका लागि कुञ्जमान थापाले एक मात्र सान्त्वना गोल फर्काए ।

खेलको १६औं मिनेटमा जर्जियनका कुञ्जमान थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको ३४औं मिनेटमा आयोजकका प्रतिस थापा मगरले गोल गर्दै खेल १–१ को अवस्था पुर्याए । खेलको ५६औं मिनेटमा आयोजकका विपिन जबेगुले गोल गर्दै गोल अन्तर २–१ को अवस्था पुर्याएका थिए ।

खेलको ९० मिनेटमा जर्जियनका प्रवेश रोयले मुख्य रेफ्रि मनिष अधिकारीलाई हात हालेका कारण रातो कार्ड पाएर बाहिरिएपछि जर्जियन १० खेलाडीमा सिमित भएको थियो । जर्जियन फुटबल क्लबले गोल गर्ने धेरै अवसर गुमाउँदा पराजित भएको हो ।

खेलभर उत्कृष्ट प्रदर्शन गरेका आयोजक टिमका विशाल भण्डारी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ६ हजार पाँच रुपैयाँ र ट्रफी प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत बुधवारको चौथो तथा अन्तिम क्वार्टरफाइनल खेल ललितपुरको सातदोबाटो युथ क्लव र मोरङको बेलबारी फुटबल क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३ लाख रुपैयाँसहित ट्रफी हात पार्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *