मोरङ । मोरङको सुन्दरहरैंचामा जारी प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैंचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिता २०८३ मा आरटी धरान एफसी, सुनसरी फाइनलमा प्रवेश गरेको छ ।
बुधबार सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० स्थित सुकुना खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा सतिसाले स्र्पोटिङ क्लब, मोरङलाई ३-१ गोलअन्तरले हराउँदै धरान फाइनलमा पुगेको हो ।
धरानको जितमा कृष्ण राई, तपन कार्की र दोर्जे तामाङले समान १-१ गोल गरे । सतिसालेका लागि एक मात्र गोल साजन बर्देवाले गरे । खेलभर उत्कृष्ट प्रदर्शन गरेका धरानका दोर्जे तामाङ म्यान अफ दि म्याच घोषित भए । उनले नगद रु. ३ हजार १ सयसहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत भोलि बिहिवार हुने दोस्रो सेमिफाइनल खेल आयोजक सुन्दर खोर्साने युवा क्लब, मोरङ र सलहेश युवा क्लब, सिराहाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
