काठमाडौं । युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युईएफए युराेपा लिगको क्वाटरफाइनल समिकरण पूरा भएको छ । बिहीबार राति सम्पन्न अन्तिम १६ का दोस्रो लेगका खेलसँगै अन्तिम आठ टोलीको टुंगो लागेको हो ।
अब सेमिफाइनल प्रवेशका लागि ब्रागाले रियल बेटिससँग प्रतिस्पर्धा गर्नेछ भने फ्रेबर्ग र सेल्टा भिगो आमनेसामने हुनेछन् । त्यस्तै पोर्टोले नटिङ्घम फरेस्टसँग खेल्दा बोलोग्नाले एस्टन भिल्लाको सामना गर्नेछ ।
क्वाटरफाइनलमा इंग्ल्यान्ड, स्पेन र पोर्चुगलका दुई–दुई क्लब पुगेका छन् भने इटाली र जर्मनीका एक–एक टोलीले स्थान बनाएका छन् ।
अन्तिम १६ अन्तर्गत गए रातिका खेलपछि ब्रागाले फेनेबाचे लाई समग्रमा ४–२ ले हरायो । रियल बेटिसले प्यानाथिनाइकोस माथि ४–१ को जित निकाल्दा फ्रेबर्गले जेन्कलाई ५–२ ले पन्छायो ।
यस्तै सेल्टा भिगोले लियोनलाई ३–१ ले पराजित गर्दा पोर्टोले स्टुटगार्ट माथि ४–१ को सहज जित हात पार्यो। एस्टन भिल्लाले लिललाई ३–० ले हरायो।
रोमाञ्चक खेलमा नटिङ्घम फरेस्टले मिडत्जल्यान्ड विरुद्ध टाइब्रेकरमा ३–० को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनायो । निर्धारित समयसम्म समग्रमा २–२ को बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
अर्को खेलमा बोलोग्नाले अतिरिक्त समयमा रोमालाई समग्रमा ५–४ ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गर्यो ।
