इटहरी । अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लब उदयपुरले जितेको छ ।

आइतबार इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको फाइनल खेलमा लोहोरुङ्ग फुटबल क्लब संखुवासभालाई १-० गोलले निराश बनाउँदै बसाहाले उपाधि चुमेको हो ।

उपाधिसँगै बसाहाले नगद ४ लाख ४४ हजार ४ सय ४४, कप, मेडल तथा प्रमाणपत्र हात पार्‍यो । फाइनलमा हार ब्यहोरेको लोहोरुङ्ग उपविजेतामा सीमित रहँदै नगद २ लाख २२ हजार २ सय २२, कप मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

बसाहाको जितमा रितेश तामाङले ६६औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच भने लोहोरुङ्गका मिलन लिम्बु घोषित भए । उनले नगद ५ हजार ५ सय रुपैयाँसहित मेडल प्राप्त गरे ।

प्रतियोगितामा बसाहाका रितेश तामाङ सर्वाधिक गोलकर्ता बन्दा बसाहाकै सन्दिप भट्टराई उत्कृष्ट गोलरक्षक बने । उत्कृष्ट डिफेन्डर पनि बसाहाकै मंजिल खडका, उत्कृष्ट मिडफिल्डर लोहोरुङ्गका बिबेक राई, उत्कृष्ट प्रशिक्षक बसाहाका केशब राई तथा उदयीमान खेलाडी आयोजक द योङ ब्रदर्श क्लबका सबिन घिमिरे चुनिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि भने बसाहाका रितेश तामङले हात पारे । उनले नगद २० हजार र बाँकी विधागत उत्कृष्ट खेलाडीले जनही नगद १० हजार रुपैयाँसहित ट्रफी पाए ।

प्रतियोगिताको उपाधि विजेता र उपविजेता तथा विधागत पुरस्कार विजेतालाई इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश पराजुलीले पुरस्कार प्रदान गरेका थिए । द योङ ब्रदर्श क्लब इटहरी सुनसरीको आयोजनामा भएको प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *