एन्फा राष्ट्रिय लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा चर्च ब्वाइज युनाइटेड विजयी भएको छ भने संकटा फुटबल क्लब र सातदोबाटो युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइजले सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गरेको हो ।
चर्च ब्वाइजको जितमा विदेशी खेलाडी सर्ज डिका नायक बने । उनले खेलको ७८औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
यस जितसँगै चर्च ब्वाइजले आठ खेलबाट १९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भए पनि गोल अन्तरका आधारमा मच्छिन्द्र क्लब दोस्रो स्थानमा झरेको छ ।
त्यसअघि भएको अर्को खेलमा संकटा फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच गोलरहित बराबरी भएको थियो । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल गर्न भने सफल भएनन् ।
यो नतिजासँगै नौ खेलबाट संकटाले १० अंक जोडेको छ भने आठ खेल खेलेको सातदोबाटोको खातामा ८ अंक पुगेको छ ।
