अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बुधबारदेखि शुरु भएको एन्फा राष्ट्रिय लिगको पहिलो दिन सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले श्री भगवती क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय मैदानमा भएको दिनको दोस्रो खेलमा चर्च ब्वाइज र श्री भगवती क्लबले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

खेलमा सुरुआती अग्रता भने भगवतीले लियो । भगवतीका लागि हरिहर बूढामगरले गोल गरे । उनले खेलको पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता लिए ।

त्यसपछि खेलको ६५औं मिनेटमा यता चर्च ब्वइजका कप्तान एरिक विष्टले गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा गोल हुन सकेन । यससँगै दुवै टोलीले समान एक-एक अङ्क बाँडेका छन् ।

सोही मैदानमा आजै भएको अर्को खेलमा फ्रेन्ड्स क्लबले काँक्रे विहार क्लबमाथि ३–१ गोलको पुनरागमन जित हासिल गर्यो ।

प्रतियोगिताको दोस्रो दिन बिहीबार दुई खेल हुनेछन् । पहिलो खेलमा सातदोबाटो युवा क्लबले सङ्कटा एफसीसँग खेल्नेछ । उक्त खेल बिहान ११ बजे हुनेछ । त्यस्तै दिउँसो ३ बजे हुने अर्को खेलमा लालीगुराँस एशोसिएसनले जावलाखेल युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दुबै खेल सातदोबाटोमै हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *