नक्सलबारी । मोरङको नक्सलबारीमा जारी छैठौं माघे संक्रान्ती खुल्ला नकआउट फुटबल प्रतियोगितामा नक्सलबारी फुटबल क्लब, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा नक्सलबारीले डाँगीहाट फुटबल क्लब, मोरङलाई ३-२ ले हरायो । नक्सलबारीलाई जित दिलाउन क्रिसल थापाले दुई तथा करण थापाले एक गोल गरे ।
डाँगीहाटका लागि उमेश कार्की र अरूण लिम्बुले समान एक-एक गोल गरे । खेलको म्यान अफ दि म्याच नक्सलबारीका क्रिसल थापा घोषित भए । उनले नगद रु १,५८२ सहित मेडल प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत आइतबार बेलबारी फुटबल क्लब, मोरङ र घंगरू फुटबल क्लब, मोरङबीच तेस्रो क्वार्टरफाइनल खेल हुनेछ ।
जनज्योति क्लब, नक्सलबारी, मोरङको आयोजनामा जारी प्रतियोगितामा मोरङ र सुनसरी गरी ८ वटा टिम सहभागिता छ । प्रतियोगिताको संयोजकको रुपमा नेपाल मगर संघ र नक्सलबारी फुटबल क्लब रहेका छन् भने सहयोगी संस्था बेलबारी नगरपालिका रहेको छ ।प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजार पाउने छ ।
