साउदी प्रो लिगमा अल-अहलीले अल-नासरलाई ३-२ ले पराजित गरेको छ । यो हारसँगै अल- नासरको जारी सिजनको अपराजित यात्रा टुंगिएको छ ।

अल-अहलीका इभान टोनीले उत्कृष्ट प्रदर्शनका २ गोल गरे । उनले विजयी गोलका लागि असिस्ट पनि दिए। टोनीले खेलको सातौँ र २०औँ मिनेटभित्र गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

तर अल-नासरका अब्दुलेलाह अल अम्रीले २ गोल गर्दै खेल बराबरीमा ल्याए । ३१ औँ मिनेटमा पहिलो गोल अल-अहलीका गोलकिपरको गल्तीका कारण सम्भव भयो ।

दोस्रो गोल ४४औँ मिनेटमा कर्नरबाट आएको बलमा हेडमार्फत भयो। पहिलो हाफमा २-२ बराबरी भएको थियो ।

खेलको ५५औँ मिनेटमा मेरिह डेमिरालले हेड मार्फत गोल गर्दै अल-अहलीलाई पुनः अग्रता दिलाए । त्यो गोल टोनीको फ्रिकिकबाट आएको क्रसमा सम्भव भयो । त्यहि गोल खेलको निर्णायक बन्यो ।

अल-नासरका क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।

अन्तिम समयमा दुवै टोलीका समान १ खेलाडीले रातो कार्ड पाए । हारका बाबजुद अल-नासर शीर्ष स्थानमा छ भने अल-अहली चौथो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *