विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले संविधान दिवसको अवसर पारेर आयोजना गरेको रोड रेस प्रतियोगितामा यु- १५ छात्रतर्फ उज्ज्वल तुम्सिङ्ग र छात्रातर्फ अनिशा कार्की प्रथम हुनु भएको छ ।
आज विराटनगरस्थित शहीद रंगशालाबाट सुरु भएर सोही स्थानमा सम्पन्न ३ किलोमिटर रोड रेसमा अन्य प्रतिस्पर्धीलाई पछि पर्दै तुम्सिङ्ग र कार्कीले प्रथम हुनुभएको हो ।
यु- १५ छात्रतर्फ दोस्रो स्थानमा समिर राजवंशी, तेस्रो स्थानमा सनम आङदेम्बे रहँदा यु-१५ छात्रातर्फ दोस्रो स्थानमा रजिना राई र तेस्रो स्थान निमा राईले प्राप्त गर्नु भएको थियो ।
त्यस्तै, ५० वर्ष माथिको उमेर समूहको २ किलोमिटर भेट्रान रेसमा पुरुषतर्फ विजयकुमार राईले पहिलो स्थान, अविनारायण अधिकारीले दोस्रो स्थान र मंगल तामाङले तेस्रो स्थान हात पार्नु भएको थियो भने भेट्रान महिलातर्फ कौशिला तामाङ पहिलो हुँदा रिता कुमारी चौधरीले दोस्रो र चन्द्रकला कामतले तेस्रो स्थानमा चित्त बुझाउनु परेको थियो ।
‘स्वस्थ नागरिक, गतिशील संविधान’ भन्ने नारासहित सम्पन्न रेसमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई संविधान दिवसको दिन कोशी प्रदेश सरकारले आयोजना गर्ने मूल समारोहमा जनही नगद क्रमश: २५ हजार, २० हजार र १५ हजारसहित सम्मानपत्र हस्तान्तरण गरिने खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले जानकारी दिनु भयो ।
ब्याडमिन्टनमा पुरुषतर्फ लिम्बू र श्रेष्ठको जोडी र महिलातर्फ राई र लिम्बूको जोडी प्रथम
बोर्डकै आयोजनामा कोशी प्रदेशभित्रका जनप्रतिनिधि, निजामती कर्मचारी, शिक्षक, सुरक्षा निकायलगायत सरकारी निकायको सहभागिता रहेको ब्याडमिन्टन प्रतियोगितामा पुरुष डबल्सतर्फ सुवास लिम्बू र प्रदिप कुमार श्रेष्ठको जोडीले प्रथम स्थान हासिल गरेको छ । फाइनल खेलमा शान्त कुमार राई र दिनेश राईको जोडीलाई पछि पर्दै लिम्बू र श्रेष्ठको जोडीले प्रथम स्थान हासिल गरेको हो ।
प्रतियोगिताको तेस्रो स्थानमा दिल कुमार आचार्य र तोत्र खड्का र सुरज राना मगर र इन्द्र राईको जोडी रहन सफल भएको थियो ।
त्यस्तै, महिला डबल्सतर्फ सुजन राई र लिला लिम्बूको जोडीले प्रथम स्थान हासिल गर्दा सानु जोशी र बिमला श्रेष्ठको जोडीले दोस्रो स्थानमा चित्त बुझाउनु परेको थियो । प्रतियोगिताको तेस्रो स्थानमा संयुक्त रुपमा शिक्षा कार्की र पशुपति बस्नेतको जोडी र अञ्जु सुवेदी र विनिता शाहको जोडी रहेको थियो ।
ब्याडमिन्टन प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरेको जोडीलाई जनही क्रमश: २५ हजार नगद, दोस्रोलाई २० हजार नगद र १५ हजार नगदसहित सम्मान-पत्र हस्तान्तरण गरिने सदस्य सचिव घोषले जानकारी दिनु भयो ।
असोज १ गते सुरु भएको ब्याडमिन्टन प्रतियोगिता आज दोस्रो दिन सम्पन्न भएको थियो ।
