काठमाडौं । नेमोनिक मोर्डन एकेडेमीको ब्वाइज र गल्स दुवै टोली दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।
ब्वाइजको सेमिफाइनलमा नेमोनिकले काठमाडौं जेभियर्स पब्लिक स्कुललाई ५४-४८ ले पराजित गर्यो । नेमोनिकको जितमा रेनिश लामाले २१ अंक योगदान गरे ।
फाइनलमा नेमोनिकको भेट एन्जल लर्डसंग हुनेछ । अर्को सेमिफाइनलमा केभिन चौलागाईंको १२ अंक सहयोगमा एन्जल लर्डले नेरिक एकेडेमीलाई ३८-३४ ले हरायो ।
गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित आयोजक टाइमलाइन स्कुलको कोर्टमा भइरहेको प्रतियोगिताको गल्समा नेमोनिकले बाल संसारलाई १२-६ ले पाखा लगायो । नेमोनिककी युसिका तामाङले ८ अंक जोडिन् ।
उपाधिका लागि नेमोनिकले बागमतीको सामना गर्ने छ । बागमतीले काठमाडौं जेभियर्सलाई ३३-२९ ले पन्छायो । बागमतीकी स्मृति पोखरेलले १३ स्कोर गरिन् । फाइनल सोमबार हुनेछ ।
