डीजीआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा नेपालको सबैभन्दा ठूलो टी-१० क्रिकेट प्रतियोगिता, नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) आयोजना हुने भएको छ ।

सोमबार काठमाडौंको एभरेस्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा एनएसपीएलका अध्यक्ष ज्ञानु सिंहले प्रतियोगिताबारे जानकारी दिए ।

नेपाल स्ट्रिट प्रिमियर लिग २०८२ असोज १५ देखि असोज २४ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा सात टोलीले सहभागिता जनाउनेछन्, जसमा कुल २४ खेल हुनेछन् । प्रतियोगिता सिंगल राउन्ड रोबिन लिगको आधारमा खेलिनेछ, र लिगको शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुन टोलीहरूले टिम खरिद गर्नुपर्नेछ, र खेलाडीहरूको अक्सन प्रक्रियामार्फत चयन गरिनेछ । विजेता टोलीले २१ लाख रुपैयाँ र उपविजेता टोलीले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

एनएसपीएलका अध्यक्ष ज्ञानु सिंहले यो लिगले उदीयमान क्रिकेट प्रतिभाहरूलाई बलियो र समावेशी मञ्च प्रदान गरेर ग्रासरूट क्रिकेटको विकास गर्ने बताए । “हाम्रो उद्देश्य ‘स्ट्रिटदेखि स्टेडियमसम्म’ भन्ने नारालाई साकार पार्दै देशभरका युवा क्रिकेटरहरूलाई राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु हो,” उनले भने । यो प्रतियोगिताले नेपालमा क्रिकेट खेलको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुऱ्याउने अपेक्षा गरिएको छ ।

पत्रकार सम्मेलनमा एनएसपीएलले चर्चित नेपाली अभिनेता निखिल उप्रेतीलाई आफ्नो ब्रान्ड एम्बासडर घोषणा गरेको छ । नेपाली चलचित्र उद्योगमा दशकौंदेखि सक्रिय उप्रेती आफ्नो शक्तिशाली संवाद र एक्सनका लागि पर्दामा चर्चित छन् भने पर्दाबाहिर उनको बौद्धिकता र व्यक्तित्वले पनि उत्तिकै ख्याति कमाएको छ ।

ब्रान्ड एम्बासडरको रूपमा एनएसपीएलमा आबद्ध हुन पाउँदा आफूलाई गर्व र खुसी लागेको उप्रेतीले बताए । “यो लिगले समग्र क्रिकेट खेलको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ, र म यसको हिस्सा बन्न पाउँदा उत्साहित छु,” उनले भने ।

अध्यक्ष ज्ञानु सिंहले निखिल उप्रेतीलाई ब्रान्ड एम्बासडरको रूपमा स्वागत गर्दै उनको सहभागिताले प्रतियोगितालाई थप आकर्षक र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

एनएसपीएलले नेपालमा क्रिकेटको लोकप्रियता र विकासलाई नयाँ उचाइमा पुऱ्याउने लक्ष्य राखेको छ । यो प्रतियोगिताले स्थानीय स्तरका खेलाडीहरूलाई अवसर प्रदान गर्नुका साथै क्रिकेटप्रेमी दर्शकहरूलाई रोमाञ्चक खेलको अनुभव प्रदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *