घरेलु टोली श्रीलंकाले बंगलादेशविरुद्धको तीन खेलको ओडिआई सिरिज २-१ ले जितेको छ । तेस्रो तथा निर्णायक खेल ९९ रनले जित्दै श्रीलंकाले सिरिज आफ्नो पक्षमा पारेको हो ।

यसअघि पहिलो ओडिआई श्रीलंकाले ७७ रनले जितेको थियो भने दोस्रो ओडिआई बंगलादेशले १६ रनले जितेको थियो ।

श्रीलंकाले दिएको २८६ रनको लक्ष्य पछ्याएको बंगलादेश ३९.४ ओभरमा १८६ रनमा समेटियो । बंगलादेशका तौहिद हृदयले ७८ बलमा ४ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ५१ रन जोडे ।

यसैगरी, प्रभेज हौसन र मेहेदी हसन मिराज समान २८, जाकिर अलि २७, तान्जिद हसन १७ तथा शमिम हौसन १२ रन बनाए ।

बंगलादेशलाई सस्तैमा समेट्न श्रीलंकाका दुस्मथा चमिरा र आसिथा फर्नान्डोले समान ३ तथा दुनिथ बिल्लालागे र वानिन्दु हसरंगाले समान २ विकेट लिए ।

त्यसअघि पाल्लिखेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको घरेलु टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८५ रन बनाएको थियो ।

श्रीलंकाका लागि कुशल मेन्डिसले शतक प्रहार गरे । उनले ११४ बलमा १८ चौकाको सहयोगमा १२४ रनको शतकीय इनिङ खेले । कप्तान चरिथ असलंका ६८ बलमा ९ चौकाको सहयोगमा ५८ रनको योगदान दिए । ओपनर पथुम निशंका ३५, कमिन्डु मेन्डिस १६ तथा जानिथ लियान्गा १२ रन बनाए ।

बंगलादेशका लागि कप्तान मेहेदी हसन मिराज र तस्किन अहमदले समान २ तथा तान्जिम हसन साकिब, तन्भिर इस्लाम र शमिम होसैनले समान १ विकेट लिए ।

अब श्रीलंका र बंगलादेशले ३ खेलको टी-२० सिरिज खेल्नेछ । उक्त सिरिज बिहीवार सुरु हुनेछ । यसअघि श्रीलंकाले बंगलादेशविरुद्धको २ खेलको टेस्ट सिरिज १-० ले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *