मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टोलीका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार सम्मान गरेको छ ।
काठमाडौँको बूढानीलकण्ठस्थित चुनिखेलमा रहेको काठमाडौँ क्रिकेट एकेडेमी परिसरमा आयोजित कार्यक्रममा अभयलाई खादा लगाइदिएर, केक काटेर बधाई तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा एकेडेमीका निर्देशक जगत टमाटा र सञ्चालक मदन कार्कीको प्रमुख उपस्थितिमा अभयको उपलब्धिको कदर गर्दै प्रशंसा गरिएको थियो ।
मधेश प्रदेशको सर्लाही घर भएका अभय विगत चार महिनादेखि उक्त एकेडेमीमा नियमित प्रशिक्षणरत छन् । मलेसियामा आयोजित प्रतियोगिताको फाइनलमा सिंगापुरविरुद्ध उनले ३ विकेट लिँदै ‘प्लेयर अफ द म्याच’को उपाधि जितेका थिए ।

साथै, उनले नटआउट १० रनको योगदान पनि दिएका थिए । दायाँहाते तीव्र गतिका बलर अभयले प्रतियोगिताभरि ५ खेलमा १० विकेट लिँदै नेपालका लागि दोस्रो सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । यसअघि गत महिना सुर्खेतमा सम्पन्न टीबी शाह मेमोरियल यु-१६ प्रतियोगितामा उनले ७ खेलमा १९ विकेट लिँदै उत्कृष्ट बलरको उपाधि हासिल गरेका थिए ।
सोही अवसरमा एकेडेमीका सञ्चालक मदन कार्कीले अभयलाई आगामी दिनमा क्रिकेट प्रशिक्षणका लागि पूर्ण छात्रवृत्तिको घोषणा गरे । उनले भने, “अभयको मेहनत, अनुशासन र लगावले यो उपलब्धि सम्भव भएको हो । यस्ता प्रदर्शनले अन्य विद्यार्थीहरू पनि प्रेरित होऊन् भन्ने हाम्रो अपेक्षा छ ।”
एकेडेमीका निर्देशक जगत टमाटाले अभयलाई मेहनती र लगनशील विद्यार्थीको रूपमा वर्णन गर्दै भने, “कुनै पनि विद्यार्थीले निरन्तरता, मेहनत र समर्पणका साथ अघि बढेमा अभयले जस्तै सफलता प्राप्त गर्न सक्छ ।”
सम्मान ग्रहणपछि आफ्नो संक्षिप्त मन्तव्यमा अभयले भने, “प्रशिक्षक टमाटाले सधैं देशको भावनासहित खेल्नुपर्छ भन्ने सिकाउनुहुन्थ्यो । मैले त्यही कुरा मनन गरेर खेलें । मेहनत गरे सफलता अवश्य प्राप्त हुन्छ ।”
