धनकुटामा जारी १७औं सहिद भीमनारायण गोल्डकपमा गाईघाट फुटबल क्लब, उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ ।
धनकुटाको तल्लो टुंडिखेलमा सोमबार भएको दोस्रो क्वाटरफाइनल खेलमा ब्वाइज स्पोर्ट्स क्लब, सुनसरीलाई १-० गोलअन्तरले पराजित गर्दै गाइघाटले अन्तिम चारमा स्थान बनाएको हो ।
गाईघाटलाई जित दिलाउन विदेशी खेलाडी फोफानाले निर्णायक गोल गरे । उनले खेलको १६औं मिनेटमा गोल गरेका हुन् ।
खेलको म्यान अफ दि म्याच उदयपुरका गोलरक्षक अनिल मगर घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत मंगलबारको तेस्रो क्वाटरफाइनल खेल चित्लाङ्ग फुटबल क्लब, काठमाडौं र बिर्तामोड युनाइटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यही चैत २३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पुरस्कार पाउने छन् ।
