सहिद स्मारक ‘बी’ डिभिजन लिगमा च्यासल युथ क्लब तेस्रो स्थानमा उक्लिएको छ ।
मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मध्यपुर युथ एसोसिएसनलाई ४-० ले पराजित गर्दै च्यासल तेस्रो स्थानमा उक्लिएको हो ।
च्यासललाई जित दिलाउन आशिष थारु, निरज कार्की, सुजन विश्वकर्मा र कुशल देउवाले समान एक गोल गरे । सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् ।
खेलको ५६औं मिनेटमा आशिषले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि निरजले टोलीको अग्रता दोब्बर पारे ।
निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा सुजनले गोल गर्दै च्यासललाई एकपक्षीय जितनजिक पुर्याइसकेका थिए । तर, इन्जुरी समयको पाँचौं मिनेटमा कुशलले अर्को गोल थपे ।
जितसँगै तेस्रो स्थानमा उक्लिएको च्यासलले ४ खेलबाट ७ अंक जोडेको छ । लगातार दोस्रो खेलमा पराजय बेहोरेको मध्यपुर भने ३ खेलबाट ४ अंकका साथ सातौं स्थानमा छ ।
दिनको दोस्रो खेलमा श्री कुमारीले श्री भगवती क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
