चितवन एफसीले तेश्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा चितवनले पोखरा थण्डर्सलाई २-० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
चितवनले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको थियो । चितवनको जितमा विदेशी खेलाडी नोदिर माभलोनोभर वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका नीरज चौधरीले एक एक गोल गरेका हुन् ।
खेलको १५औं मिनेटमा उज्बेकिस्तानका खेलाडी नोदिरले गोल गर्दै चितवनलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको दोश्रो हाफको इन्जुरी समयमा निरजले उत्कृष्ट गोल गर्दै चितवनलाई २-० को जित दिलाए ।
यससँगै चितवन एनएसएल तेश्रो सिजनमा जित निकाल्ने पहिलो टोली बनेको छ । चितवनले पहिलो खेलबाट ३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।
जारी सिजनको अघिल्ला दुवै खेल बराबरीमा सकिएका थिए । यता गत सिजन प्लेअफसम्मको यात्रा तय गर्न सफल पोखरा भने हारबाट नयाँ सिजनको शुरूवात गर्न बाध्य भएको छ ।
