नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद चुलिदै जाँदा मंगलबार समस्या समाधानका लागि ओलम्पिक कमिटि अफ एशिया (ओसिए) को मुख्यालय कुवेतमा बसेको बैठकले दुई बुदे सम्झौता गरेको छ ।
ओसिएका महानिर्देशक हुसेनको अध्यक्षता बसेको बैठकले दुवै पक्षसँग छलफल गरेपछि दुई बुदे सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका पूर्व महासचिव निलेन्द्रराज श्रेष्ठ र एनओसीविरुद्ध अदालतमा निवेदन दर्ता गर्ने पाँचवटै राष्ट्रिय खेल संघका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।
सम्झौताको पहिलो बुदामा नेपाल ओलम्पिक कमिटीले सदस्यता नदिएर अदालत पुगेका पाँच राष्ट्रिय संघलाई फुल मेम्बरसिप अर्थात् पूर्णकालिन सदस्यता दिने सहमति भएको छ। सहमति अनुसार अब ति पाँच संघहरुले १५ दिनभित्र पूर्णकालिन सदस्यता पाउने भएका छन् ।
पूर्णकालिन सदस्यता पाउने पाँच राष्ट्रिय संघहरुमा नेपाल मोर्डन पेन्टाथलन संघ, नेपाल इक्विस्ट्रेसन संघ, नेपाल रग्बी संघ, नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ र नेपाल बेसबल तथा सप्टबल संघ रहेका छन् ।
त्यस्तै सम्झौताको दोश्रो बुदामा नेपाल ओलम्पिक कमिटिविरुद्ध अदालतमा मुद्दा दायर गर्ने पाँच वटै संघलाई तुरुन्तै मुद्दा फिर्ता गर्ने विषयमा पनि सहमति भएको छ । ओसिएका महानिर्देशकले समेत हस्ताक्षर गरेको उक्त सम्झौता पत्रमा राजेन्द्र श्रेष्ठ, रवी राजकर्णिकार, दीपक देवकोटा, अच्युत खनाल, दीपक न्यौपाने र जीवनराम श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
