विराटनगरमा जारी नवौं संस्करणको विराट गोल्डकपको फाइनल खेल आज हुँदै छ ।

सहिद रंगशालामा हुने फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुने छ । 

खेल साँझ ६ः३० बजेपछि सुरु हुने आयोजकले जनाएको छ । चर्च ब्वाइज सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता हो भने थ्री स्टार विराट गोल्डकपको पाँचौं संस्करणको विजेता समेत हो ।

थ्री स्टारले मछिन्द्र र त्रिभुवन आर्मीलाई हराउँदै फाइनलमा पुगेको हो । थ्री स्टारले मछिन्द्रलाई २–१ ले र सेमिफाइनलमा आर्मीलाई ३–२ ले हराएको थियो ।

विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको चर्च ब्वाइजले एनआरटी र नेपाल पुलिसलाई पन्छाएको थियो । चर्च ब्वाइजले एनआरटीलाई २–० ले र पुलिसलाई १–० ले हराको हो ।

चर्च ब्वाइज र थ्रीस्टारको यो सिजन पहिलोपल्ट विराट गोल्डकपको फाइनलमा भेट हुँदै छ । चर्च ब्वाइजले पहिलो पटक गोल्डकपको उपाधि जितको लक्ष्य राखेको छ भने थ्री स्टार दोस्रो पटक उपाधि हत्याउने योजनामा छ ।

फाल्गुन १९ गतेबाट सुरु भएको गोल्डकपमा २ विदेशीसहित १० टोलीको सहभागिता थियो । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेतालाई ५ लाख रुपैयाँका साथै ट्रफी, मेडल प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पुरस्कार प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *