सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री भगवती क्लबले विजयी सुरुवात गरेको छ ।
मंगलबार भएको खेलमा एक गोलले पछि परेको अवस्थालाई उल्टाएर भगवतीले रानीपोखरी कर्नर टिम (आरसीटी) माथि ३-१ को पुनरागमन जित हात पारेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो हाफमै १० खेलाडीमा सिमित रहेको आरसीटीले खेलमा अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । ३३औं मिनेटमा कप्तान समिर राईले विपक्षी कप्तान उर्केन शेर्पामाथि हात उठाएपछि आरिसिटी १० खेलाडीमा सिमित भएको थियो ।
कम खेलाडी हुनका बाबजुद ३६औं मिनेटमा निखिल तामाङले गोल गर्दै आरसिटीलाई अग्रता दिलाएका थिए । श्री भगवतीको लागि भने दोस्रो हाफ सुखद रहयो । ५४औं मिनेटमा विक्रान्त नरसिंह रानाले बराबरी गोल गरे ।
यसपछि ७७औं मिनेटमा शिशिर लेखिको प्रहार डिफेन्डर अमर श्रेष्ठलाई लाग्दै गोलमा परिणत भएपछि टोखाले अग्रता लियो । खेलको अन्तिम मिनेटमा विशाल विक्रम शिलवालले जित पक्का गरे । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोल भएको थियो ।
लिग अन्तर्गत भोलि पनि दुई खेल हुनेछन् । भोलि नयाँबस्ती युथ क्लब र ब्वाइज युनियन तथा बाँसबारी क्लब सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
