विभागीय टोली नेपाल एपिएफ क्लबलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब पाँचौं मेचीनगर गोल्डको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार काँकरभिट्टा माध्यमीक विद्यालयको खेल मैदानमा भएको चाैथाे तथा अन्तिम क्वाटरफाइनल खेलमा एपिएफलाई १-० गोलले स्तब्ध बनाउँदै मछिन्द्रले अन्तिम चारमा स्थान बनाएको हो ।
मछिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी युसुफ मलिकले गरेको एकमात्रै गोल पर्याप्त बन्यो । उनले पहिलो हाफको इन्जुरी समयमा स्टेफन कामहको क्रसलाई वान टचमै पोस्टको दिशा दिए ।
खेलको म्यान अफ द म्याच मच्छिन्द्रका निर्णायक गोलकर्ता युसुफ मलिक भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए ।
यससँगै प्रतियोगिताको समेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा मछिन्द्र चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ । चर्च ब्वाइजले झापा एफसीलाई सडन डेथमा ५-४ ले पारजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।
बुधवार पहिलो सेमिफाइनल खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र धरान फुटबल क्लबबिच हुनेछ ।
काँकरभिट्टाले भारतको जर्जियन एफसीलाई ४-२ तथा धरानले उज्केकिस्तानको ब्ल्याक बुल्स एफसीलाई पेनाल्टीसुटआउटमा ५-३ ले पराजित गर्दै सेमिफाइनमा स्थान बनाएका थिए ।
आठ टिम सहभागी प्रतियोगिताको पाँचौँ संस्करणको विजेताले १० लाख र उपविजेता टिमले ५ लाख रुपैयाँ पाउनेछन् ।
