युईएफए च्याम्पियन्स लिग फुटबलमा आजदेखि अन्तिम १६ मा दोस्रो लेगका निर्णायक खेलहरू हुँदैछन् ।
आज मंगलबार ४ र भोलि बुधबार ४ खेल भएपछि अन्तिम १६ का खेल सकिएर क्वार्टरफाइनल चरणको समीकरण पूरा हुनेछ । आज हुने ४ खेल मध्ये पहिलो खेलमा स्पेनको बार्सिलोना र पोर्चुगलको क्लब बेनफिकाबीच रोमाञ्चक खेल हुँदैछ ।
यो खेल बार्सिलोनाको घरेलु मैदानमा राति ११ः३० बजेबाट सुरु हुनेछ । यसअघि बेनफिकाको घरमा भएको पहिलो लेगको खेल बार्सिलोनाले १-० ले जितेको थियो । अब बार्सिलोनाको घरमा दोस्रो लेग हुँदा बेनफिकालाई कमब्याक जितका लागि कम्तीमा २ गोलको अन्तरमा जित चाहिन्छ भने बार्सिलोनाले जति गोलको भए पनि बराबरी खेले क्वार्टरफाइनल प्रवेश गर्न पुग्छ ।
यसै सिजन बार्सिलोनाले लिग चरणको खेलमा पनि बेनफिकालाई हराएको थियो । यसअघि पहिलो लेगको खेलमा बार्सिलोना १० खेलाडीमा सीमित भएर पनि बेनफिकाविरुद्ध उसकै घरमा संघर्षपूर्ण तरिकाले १-० को जित निकालेको थियो । आजको खेलमा बार्सिलोनालाई घरेलु मैदान र दर्शकको फाइदा मिल्नेछ ।
आजको दोस्रो र सबैभन्दा आकर्षक खेलमा इंग्ल्यान्डको क्लब लिभरपुल र फ्रान्सको पिएसजीबीच रोमाञ्चक भिडन्त हुँदैछ । यो खेल लिभरपुलको घरेलु मैदानमा राति १:४५ बजेबाट सुरु हुनेछ ।
यसअघि पिएसजीको घरमा भएको पहिलो लेगको खेलमा लिभरपुलले १-० को निकै संघर्षपूर्ण जित निकालेको थियो । अब लिभरपुलको घरमा दोस्रो लेग हुँदा पिएसजीलाई कमब्याक जितका लागि कम्तीमा २ गोलको अन्तरमा जित चाहिन्छ ।
तर घरेलु टोली लिभरपुलले जति गोलको भए पनि बराबरी खेले क्वार्टरफाइनल प्रवेश गर्न पुग्छ । पहिलो लेगमा पिएसजीले लिभरपुलविरुद्ध एकतर्फी दबाब बनाएर खेले पनि नतिजा भने अनुकूल आएन । पिएसजी दोस्रो लेगमा लिभरपुललाई घरमै हराएर प्रतियोगिताबाट बेलैमा बिदा गर्ने योजनामा छ ।
यदि आजको खेलमा पिएसजीले पहिलो लेगकै जस्तो प्रदर्शन गर्न सक्यो पनि लिभरपुलको घरेलु मैदानमा कमब्याक सम्भव हुन सक्छ । पहिलो लेगमा पिएसजीले सबै हिसाबमा लिभरपुलमाथि चर्को दबाब बनाएर खेल्दा इंग्लिस टिमले ठूलै संघर्ष गर्नु परेको थियो ।
आज हुने अन्य खेलमा इटालियन इन्टर मिलान र डच क्लब फेनुर्ड भिड्दैछन् । यसअघि पहिलो लेगमा इन्टरले २-० को जित निकालेको थियो । आज घरेलु मैदानमा उत्रिदा इन्टरलाई १ गोलको अन्तरमा हार भए पनि क्वार्टरफाइनल प्रवेश गर्न पुग्नेछ । आजको अन्तिम खेलमा जर्मनीका दुई शीर्ष क्लब बार्यन म्युनिख र बायर लेभरकुसेन भिड्दैछन् । यो खेल लेभरकुसेनको घरेलु मैदानमा हुनेछ ।
यसअघि पहिलो लेगको खेलमा बार्यन म्युनिखले ३-० को प्रभावशाली जित निकालेको हुँदा बार्यन म्युनिखलाई आज २ गोलको अन्तरमा हार भए पनि पुग्छ । तर लेभरकुसेनलाई भने ४ गोलको अन्तरमा जित चाहिन्छ । यो ज्यादै कठिन देखिन्छ । यी दुवै खेल एकै समयमा राति १:४५ बजेबाटै सुरु हुनेछन् ।
