अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा म्यानमारसंग पराजित भएपछि नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्चिला तुम्बाप्पो सुब्बाले समर्थकसँग माफी मागेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत फाइनलमा फेरि चुकेको र अपेक्षा गरे अनुसार परिणाम दिन नसकेको भन्दै माफी मागेकी हुन् ।

‘फेरि पनि, हामी फाइनलमा पुग्यौं तर चुक्यौं । कप्तानको रूपमा, म सबै समर्थकहरूसँग माफी माग्न चाहन्छु । मैदानमा उपस्थित १६,००० दर्शकहरू र सधैं हामीलाई माया गर्ने करोडौं समर्थकहरू- हामी तपाईंहरूले अपेक्षा गरेको र चाहेको नतिजा दिन सकेनौं । म्यानमार हामीभन्दा धेरै बलियो टोली थियो । पहिलो हाफ राम्रो खेलेका थियौं, तर दोस्रो हाफमा मेरो पहिलो गोलको गल्तीका कारण गोल खान पुग्यौं ।

‘तपाईहरूको समर्थनकै कारण महिला टोलीले यो पहिचान र अवसर पाएको छb। यसले हामीलाई अझ राम्रो गर्न प्रेरित गरेको छ । त्यसैले, आलोचनाभन्दा बढी, हामीलाई अझ धेरै अवसरहरू आवश्यक छन् । यस्तै प्रतियोगिताहरू र राम्रो संरचना भएको घरेलु महिला लिग आवश्यक छ । पछिल्लो वर्षमा हामीले तीन वटा फाइनल खेलेका छौं ।

‘यदि यस्ता प्रतियोगिताहरू निरन्तर भए, एक दिन हामी अवश्य उपाधि उचाल्नेछौं । हामीलाई मात्र तपाईंहरूको माया, साथ, र समर्थनको खाँचो छ । यो प्रतियोगिता आयोजना गरी हामीलाई अवसर दिएकोमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी, सम्पूर्ण विभाग, र टिम स्टाफ सबैलाई धेरै धेरै धन्यवाद ! कृपया खेलाडीहरूलाई आलोचना नगर्नुहोस्। हामी सबैले आफ्नो सक्दो मेहेनत गरेका छौं । नतिजा जस्तो भए पनि तपाईंहरूको समर्पण प्रशंसनीय छ! निरन्तर अगाडि बढ्नुहोस’ उनले भनेकी छन् ।

उनको कप्तानीमा नेपालले एकै वर्ष तेस्रोपल्ट उपाधि गुमाएको हो । गत फागुनमा साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग नेपाल टाइब्रेकरमा ५-३ ले पराजित भएको थियो । गत कात्तिकमा घरेलु मैदानमै भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा पनि बंगालदेशसँग नेपाल २-१ ले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

यसपल्ट लिग चरणमा किर्गिस्तान र लेबनानमाथि समान १-० को जित निकालेको नेपालले ६ वर्षपछि म्यानमारलाई २-२ को बराबरीमा रोकेको थियो । तर, फाइनलमा भने नेपाल फेरी पनि पराजित हुन पुग्यो । यो संगै नेपालले समग्रमा खेलेको यो १३औं अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा हार बेहोरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *