नेपाल ओलम्पियन संघ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, र राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङमाथि शुक्रवार एक समूहबाट भएको दुर्व्यवहार र उनको कार्यकक्षमा गरिएको तोडफोडप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

यस घटनामा नेपाल उसू महासंघका पूर्व पदाधिकारीहरू र असम्बन्धित व्यक्तिहरू सहितको समूहले सदस्य सचिवको कार्यालय भित्र पसी कार्यालयका टेवल लगायत अन्य सामानहरू तोडफोड गरी सार्वजनिक सम्पतिको हानी नोक्सानी गरेको बताइएको छ । यसले समग्र नेपाली खेलकुदको बदनाम भएको तीनवटै संघहरूले उल्लेख गरेका छन् ।

नेपाल ओलम्पियन संघले यस्तो अशोभनीय र उदण्ड कार्यलाई घोर भर्त्सना गर्दै घटनामा संलग्न व्यक्तिहरू विरुद्ध कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ । त्यस्तै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पनि यस्ता घटनाले खेलकुद क्षेत्रको बदनामी भएको बताउँदै दोषी व्यक्तिहरूलाई कारबाहीको माग गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले यो घटना अनुशासनहीन, अमर्यादित र अशोभनीय भएको बताउँदै दोषी व्यक्तिहरू विरुद्ध कडा कारबाही गर्न माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *