रियल मड्रिडका लिजेन्ड मार्सेलोले फुटबलबाट सन्यास लिएका छन् ।
बिहीबार ब्राजिलका ३६ वर्षीय डिफेन्डर मार्सेलोले व्यावसायिक फुटबल जीवनबाट सन्यासको घोषणा गरेका हुन् । मार्सेलो सन् २००७ मा ब्राजिलियन क्लब फ्लुमिनेन्सबाट १८ वर्षको उमेरमा रियल मड्रिडमा अनुबन्ध भएका थिए ।
१५ वर्ष रियल मड्रिडमा बिताएका मार्सेलोले २५ उपाधि जितेका थिए । २५ मध्ये पाँच च्याम्पियन्स लिग र ६ पटक ला लिगाको उपाधि समावेश छन् । सन् २०२१ मा मार्सेलो रियल मड्रिडको कप्तान पनि बनेका थिए ।
क्लबको ११७ वर्षको इतिहासमा गैर-स्पेनिस कप्तान बन्ने मार्सेलो पहिलो खेलाडीसमेत बनेका थिए । मार्सेलोले रियलबाट ५ सय ५० खेल खेलेका छन् ।
सन् २०२१-२२ को सिजनको अन्तिममा रियल मड्रिड छोडेर मार्सेलो ग्रिसको क्लब ओलम्पियाकोसमा अनुबन्ध भएका थिए । तर, अनुबन्ध भएको पाँच महिनापछि नै उनले सम्झौता रद्द गरेका थिए ।
त्यसपछि मार्सेलो सन् २०२३ मा बाल्यकालको क्लब फ्लुमिनेन्स फर्किएका थिए । दुई सिजन फ्लुमिनेन्समा बिताउँदा मार्सेलोले ६८ खेल खेलेका थिए ।
