धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा दशरथ चन्द क्रिकेट एकेडेमी बैतडी बिजयी भएको छ ।

बिहीवारको पहिलो खेलमा बैतडीले क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) काठमाडौंलाई १६ रनले पराजित गरेको छ । दशरथले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको सिइसी १९.४ ओभरमा १ सय ४४ रनमा समेटियो ।

काठमाडौंका लागि राज शाहले नट आउट रहँदै सर्वाधिक ३३ रन जोडे । उनले ३३ बलमा ४ चौका प्रहार गरे। ओपनर दीपेन्द्र रावतले २० बलमा ४ चौका र २ छक्काको सहयोगमा ३२ रन जोडे । शुभकसांकारले २० बलमा १ चौका र २ छक्काको सहयोगमा २६ रन जोडे ।

कप्तान नन्दन यादवले १५ बलमा २ छक्काको सहयोगमा २० रन जोडे । सचिन लेखकले ११ बलमा १३ रन जोडे । बैतडीका लागि सलाउद्दिन खानले सार्वधिक ५ विकेट लिए । उनले ३.४ ओभरमा मात्र १४ रन खर्चिए । दीवान पुनले ३ तथा रुपेश सिंहले १ विकेट लिए ।

त्यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको दशरथले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रनको योगफल तयार पारेको थियो । बैतडीका लागि दिवान पुनले सर्वाधिक ४३ रन जोडे । उनले ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए । बसन्त खत्रीले २७ बलमा ३ चौकाको सहयोगमा ३२ रन जोडेका थिए ।

अमरसिंह राउटेलाले १५ बलमा ५ चौका र १ छक्काको सहयोगमा २९ रन जोडेका थिए । ओपनर खडक बोहोरा १० रनमा आउट हुँदा रुपेश सिंह ४ रनमा नट आउट रहे ।

काठमाडौंका लागि सुर्य तामाङ र दीपेन्द्र रावतले समान २ तथा राज साह, युनिसविक्रम सिंह र कप्तान नन्दन यादवले समान १ विकेट लिए । जितसँगै दशरथले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ ।

काठमाडौंको हारसँगै सेमिफाइनल सम्भावना सकिएको छ । यस समूहबाट अत्तरिया भने एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेको छ । यस समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने टोलीको भने शुक्रवार स्थान पक्का हुनेछ ।

आजै हुने दोस्रो खेलमा फ्रेन्डस थुथ क्लब डडेलधुरा र घोडाघोडी ११ का बीचमा खेल हुदैछ । डडेलधुरा सेमिफाइनलमा स्थान बनाईसकेको छ । घोडाघोडी भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ सहित ट्रफी पाउनेछन् ।

प्रतियोगितामा देशभरका ८ वटा क्लबको सहभागिता रहेको छ । सहभागी टिमलाई दुई समुहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा प्रतियोगिता भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *