एनआरटीलाई सडनडेथमा हराउँदै चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी २४औं आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बिहीबार भएको तेश्रो प्रि-क्वार्टरफाइनल खेलको सडनडेथमा चर्च ब्वाइजले न्युरोड टिम (एनआरटी) लाई सडनडेथमा ६-५ ले पराजित गरेको हो ।

निर्धारित र अतिरिक्त समयमा दुवै टोलीबाट १-१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।टाइब्रेकरमा पनि ४-४ को बराबरी भएपछि खेल सडन डेथमा गयो ।

चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्र थापाले सडनडेथमा एनआरटीको तीन प्रहार रोके भने एनआरटीका रक्षक विशाल सुनारले २ खेलाडीको प्रहार रोके ।

टाइब्रेकर चर्च ब्वाइजका लागि नविन लामा, मिलन राई, अकिन्स बाफोर, अबायोमी फाकुन्ले, प्रशान्त लक्षम, टिकेन्द्रले गोल गरेब। सकल रेग्मी, सर्जे डिका र राज भुषालको प्रहार विफल भयो ।

एनआरटीका अन्जन विष्ट, जय गुरुङ, सुमित श्रेष्ठ, विशाल सुनार, राजिव लोप्चनले पेनाल्टीमा गोल गरे।एञ्जल महर्जन, जन्मजय धामी, रिचार्ड विल्सन र माईकल मगरको प्रहार विफल भयो ।

त्यसअघि खेलको २४औं मिनेटमा रिचर्ड विल्सनको गोलबाट एनआरटीले अग्रता लिएको थियो । ६३औं मिनेटमा नवीन लामाले पेनाल्टीमार्फत गोल गर्दै चर्च ब्वाइजलाई बराबरीमा ल्याए ।

अब चर्च ब्वाइजले सेमिफाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेलमै पराजित एनआरटी भने प्रतियोगिताबाट बाहिरीएको छ ।

प्रतियोगिता अन्तर्गत शुक्रवार हुने अन्तिम प्रि-क्वाटरफाइनल खेल भारत सिक्किमको थन्डरबोल्ट युनाइटेड र दुई पटकको विजेता संकटा क्लबबिच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *