जनकपुर नाइट्सले पहिलो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल) को उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार भएको फाइनलमा खेलमा काठमाडौं माभरिक्सलाई ४५–४१ ले पराजित गर्दै जनकपुर च्याम्पियन बनेको हो ।
रेडबाट जनकपुरले १९ र काठमाडौंले १० अंक प्राप्त गरे । डिफेन्समा जनकपुरले १३ र काठमाडौंले ११ अंक थपे ।
यस्तै, जनकपुरले ३ अलआउटबाट ६ अंक प्राप्त गर्दा काठमाडौंले १ अल आउटबाट २ अंक हासिल गर्यो । बोनसबाट काठमाडौंले १८ र जनकपुरले ७ अंक हासिल गरे ।
जनकपुर अपराजित रहँदै च्याम्पियन बन्यो । जनकपुर पहिलो क्वालिफायरमा तथा काठमाडौं दोस्रो क्वालिफयरमा विराटनगर ब्यान्डिट्सलाई हराउँदै फाइलन पुगेका थिए।
उपाधि विजेता जनकपुरले नगद ५ लाख रुपैयाँ प्राप्त गर्यो भने उपविजेता काठमाडौंले नगद २ लाख रुपैयाँमा चित्त बुझायो ।
