नेपाल कबड्डी लिग (एनकेएल) शुक्रवारबाट काठमाडौँमा सुरु हुँदैछ । फ्रेन्चाइज टिमको अवधारणामा आयोजित प्रतियोगिता राउन्ड रोविन लिग र नकआउट चरण गरी माघ १८ गतेसम्म चल्ने आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले जनाएको छ ।
प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौँ माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स रहेका छन् । खेल सुरु हुनु भन्दा अघिल्लो दिन आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी पूरा भएको जनाइएको छ ।
१५ दिनसम्म चल्ने उक्त प्रतियोगिताको सबै खेल दशरथ रङ्गशालामा हुनेछ । काठमाडौँ माभरिक्सको मार्की खेलाडीको रूपमा नेपाली राष्ट्रिय कबड्डी टोलीका कप्तान घनश्याम रोका मगर रहेका छन् । नेपाली राष्ट्रिय टोलीको कप्तानी जिम्मेवारी सम्हालेका उनले हालै भारतमा सम्पन्न प्रो कबड्डी लिगको विजेता टोलीमा रहेर खेलेका थिए । आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल कबड्डी लिग खेल्नको लागि उत्साहित रहेको बताए । उनले भने ‘नेपाल कबड्डी लिग खेल्न म एकदमै उत्साहित छु, टिमको तयारी पनि धेरै राम्रो भएको छ ।’
काठमाडौँले लिगको लागि भनेर एक महिना अघि देखि प्रशिक्षण थालेको थियो । टोलीले राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा दैनिक दुई घण्टा प्रशिक्षण गर्न गरेको थियो। टोलीका प्रशिक्षक सरोज सिंहले तयारी एकदमै राम्रो भएको जानकारी दिए । ‘हाम्रो टोलीको तयारी राम्रो भएको छ, हामीले लिगको लागि भनेर एक महिनाअघि देखि नै प्रशिक्षण थालेका थियौं, हामी राम्रो म्याच खेल्ने योजनामा छौं’ प्रशिक्षक सिंहले बताए । काठमाडौँ लक्ष्य उपाधि जित्ने छ ।
काठमाडौँले तीन जना विदेशी खेलाडीलाई अनुबन्ध गरेको जसमा दुई जना थाइल्यान्डका र एक जना बङ्गलादेशका रहेका छन् । विदेशी खेलाडीहरू टोलीमा हुँदा टोली अझै धेरै मजबुत भएको प्रशिक्षक सिंहले सुनाए । उनी भन्छन् हामीले अनुबन्ध गरेको विदेशी खेलाडी राम्रो छन् टोली एकदमै सन्तुलित छ, आफ्नो विपक्ष टोलीसँग राम्रो खेल खेल्नेछौँ । भारतीय प्रो कबड्डी लिग खेलेर भर्खर फर्किएका घनश्यामले पनि प्रो कबड्डी लिगको अनुभव नेपाल कबड्डी लिगमा देखाउने कुरा व्यक्त गरे । ‘भारतको प्रो कबड्डी लिग खेलेर धेरै नै मद्दत भएको छ त्यहाँ खेलेको खेलको अनुभव म एनकेएलमा देखाउँछु ।’
त्यस्तै, पोखरा लेकर्सले आफ्नो टोलीको मार्की खेलाडीको रूपमा प्रदीप मिजारलाई अनुबन्ध गरेको छ । पोखराको प्रशिक्षकको रूपमा विष्णुदत्त भट्ट रहेका छन् । प्रशिक्षक भटले पनि एनकेएलको लागि तयारी राम्रो भएको बताए । उनले आफूसँग विदेशी खेलाडी पनि उतिकै राम्रो रहेको धारण व्यक्त गरे । हाम्रो टोलीले राम्रो तयारी गरेको छ, हामीसँग राम्रा राम्रा विदेशी खेलाडीहरू पनि छन् प्रशिक्षक भट भन्छन्, हामीसँग राष्ट्रिय टोलीका खेलाडीहरू समेत छन् टोली सन्तुलित छ हाम्रो ।
पोखराले गत पुस ६ गतेदेखि एनकेएलको लागि भनेर तयारी थालेको थियो । खेलाडीले छुटा छुटै प्रशिक्षण गरे पनि सबै जना जम्मा भएर प्रशिक्षण को सुरुआत भने पुस ६ गतेबाट गरे । हामीसँग विदेशी खेलाडी पनि राम्रो हुनुहुन्छ टिम सन्तुलित नै छ पोखराका मार्की खेलाडी प्रदीप भन्छन् हाम्रो लक्ष्य भनेको नै उपाधि जित्ने हो ।
त्यस्तै, जनकपुर नाइट्सको प्रशिक्षक भूमिका पार्वती राई रहेकी छिन् । उनी एनकेएलको पहिलो संस्करणको एउटी मात्र महिला प्रशिक्षक हुन् । उनले पनि एनकेएलको लागि तयारी राम्रो भएको बताइन् । ‘हामीले लिगको लागि भनेर एक महिना अघि देखि प्रशिक्षणको सुरुआत गरेका थियौं, विपक्ष टोलीमाथि राम्रो खेल खेल्छौँ ।’ प्रशिक्षक राईले भनिन् । जनकपुरले पनि अन्य टोली झैँ राखेपको कभर्डहलमा दुई घण्टा प्रशिक्षण गरेको थियो । जहाँ लिगको लागि प्रशिक्षणको समय निकै कम रहेको उनले बताइन् ।
जनकपुरले थाइल्यान्ड र श्रीलंकन खेलाडीलाई विदेशी कोटामा अनुबन्ध गरेको छ । त्यस्तै, जनकपुरका कप्तान रामु टमाटाले प्रतियोगिताको लागि आफ्नो टोली एकदमै तयारी अवस्थामा रहेको बताए । ‘हाम्रो तयारी राम्रो भएको छ सबै जना टोलीका खेलाडीहरू एकदमै मेहनत गरेको छ, टिम सन्तुलित नै छ, कप्तान टमाटाले भने । लिगकै लागि क्लोज क्याप छिटै गरेको भए अझै राम्रो हुने प्रशिक्षक राईले बताइन् । पहिलो संस्करणको एनकेएलको उपाधि जनकपुरले आफ्नो कब्जामा राख्ने दाउ गरेको छ ।
यता, हिमालयन रेइडर्स ले भने एनकेएलकै लागि भनेर भारतको कोलापुरमा प्रशिक्षण गरेको थियो । कोलापुरमा झन्डै २१-२२ दिनको प्रशिक्षण सकेर टोली हालै मात्र नेपाल आएको हो । यस्तोमा टोलीका मार्कि खेलाडी गणेश बहादुर पार्की रहेका छन् । भारतमा गरेको प्रशिक्षण एनकेएलमा देखाउने बताए । उनी भन्छन् ‘हामी भारत जाँदा त्यहाँ कबड्डीकै प्रशिक्षकले हामीले धेरै आइडिया दिनुभएको छ, त्यहाँ हामीले एकदमै राम्रो प्रशिक्षण गरेर आयौँ कप्तान विष्ट भन्छन् त्यहाँ सिकेर आएको कुरा हाम्रो टोलीले यहाँ देखाउँछौं ।’
अन्य टोलीले यही प्रशिक्षण गरिरहँदा हिमालयन रेइर्डस भने भारतमा बिहान र बेलुका प्रशिक्षणमा व्यस्त थियो । त्यस्तै, प्रशिक्षक सन्दीप पन्तले नि तयारी गरेकै अनुसार विपक्षी टोली माथि मैदान उत्रिने बताए । ‘हामीले त्यहाँ राम्रो प्रशिक्षण गर्न पाएका थियौं त्यहाँ राम्रो प्रशिक्षण पछि हामी नेपाल फर्किएका छौं हाम्रो टोलीको तयारी एनकेएलको लागि तयार छ ।’
हिमालयन रेइर्डसले ४ जना विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ जहाँ २ जना केन्या र २ जना बङ्गलादेशका खेलाडी रहेका छन् ।
धनगढी वाइल्डक्याट्सले एनकेएलको लागि भनेर एक महिना अघि देखि तयारी सुचारु गरेको थियो । टोलीको मार्कि खेलाडीको रूपमा पदम बहादुर विष्ट तथा प्रशिक्षक महेश बोहरा रहेका छन् । प्रशिक्षक बोहराले विपक्षी टोलीविरुद्ध राम्रो चुनौती प्रस्तुत गर्न बताए । उनले भने, हाम्रो टिम एकदमै सेट छ, टोली एनकेएलको लागि पनि निकै उत्साहित छन् उनी भन्छन् हामीले आफ्नो विपक्षी टोलीलाई राम्रो चुनौती दिनेछौँ ।
धनगढीले पनि लिगको लागि भने निकै छोटो समयमा तयारी थालेको हो । तर, कप्तान विष्टले टोली मजबुत रहेको बताए। हाम्रो टोली मजबुत नै छ टोलीमा श्रीलंकन तथा बंगालदेशका खेलाडीहरू पनि छन् हामी खेलको लागि एकदमै तयार छौँ कप्तान विष्टले बताए । धनगढीले एसियन गेम्स, वर्ल्ड जुनियर च्याम्पियनसिप जस्ता प्रतियोगिता खेलेको खेलाडीलाई भित्राएको छ।
यता, विराटनगर ब्यान्डिट्सले पनि आफ्नो तयारी सबै पूरा रहेको बताएको छ । प्रशिक्षक लोक बहादुर विष्टले नेपालमै प्रशिक्षण गर्दा पनि प्रशिक्षण राम्रो भएको बताए । उनले भने एनकेएलको लागि भनेर हामीले यही प्रशिक्षण गयौँ, हाम्रो प्रशिक्षण एकदमै राम्रो भएको छ ।
विराटनगर भने अन्य टोलीमा फरक देखिएको छ जहाँ सबै युवा खेलाडीहरूले भरिएको छ । कप्तान कल्याण भुजेलले पनि युवा खेलाडी नै धेरै भएकोले गर्दा विराटनगर अन्य टोली भन्दा फरक रेको बताउँछन् । हामीले तयारी राम्रो गरेको छौँ अरूको जस्तो हाम्रो लक्ष्य पनि उपाधि जित्ने हो तर हाम्रो टोलीमा युवा खेलाडी धेरै भएर एकदमै जोस र जाँगर टोलीमा रहेको छ ।
