दशौं राष्ट्रिय खेलकुद अन्तर्गत बाँकेमा सुरु भएको पौडी तर्फको इभेन्टमा विभागीय टिमको हैसियतमा सहभागीता जनाएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ ।
प्रतियोगिताको पदक तालिकाअनुसार एनआरएनएले हालसम्म कुल ४ पदक हात पारेको छ, जसमा ३ स्वर्ण र १ कांस्य पदक समावेश छन् । सबै पदक व्यक्तिगत स्पर्धाबाट आएका हुन् ।
महिला ४०० मिटर व्यक्तिगत मिड्ले स्पर्धामा एनआरएनएकी १५ वर्षीया लिली बोहराले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जित्न सफल भइन् । उनले फाइनलमा ५ मिनेट १७.०१ सेकेन्डको समय निकाल्दै कीर्तिमान रचेकी हुन् ।
सोही स्पर्धामा नेपाल आर्मी क्लबकी डुवाना लामा ५ मिनेट ३३.३९ सेकेन्डसहित दोस्रो र नेपाल पुलिस क्लबकी देवांशी जोशी ६ मिनेट ०.४२ सेकेन्डसहित तेस्रो भए ।
त्यस्तै, महिला १०० मिटर फ्रिस्टाइल स्पर्धामा एनआरएनएले दोहोरो पदक जित्यो । १६ वर्षीया मिखा काया थापाले १ मिनेट २.९३ सेकेन्डको समयसाथ स्वर्ण पदक चुमिन् भने १५ वर्षीया लिली बोहराले १ मिनेट ४.०१ सेकेन्डसहित कांस्य पदक हात पारिन् ।
उक्त स्पर्धामा नेपाल आर्मी क्लबकी डुवाना लामा १ मिनेट ३.०४ सेकेन्डसहित दोस्रो स्थानमा रहिन् ।
एनआरएनएका लागि तेस्रो स्वर्ण पदक पनि मिखा काया थापाले नै दिलाइन् ।
महिला २०० मिटर ब्याकस्ट्रोक (एलसी) को फाइनलमा मिखाले २ मिनेट ३९.६४ सेकेन्ड समय लगाउँदै पहिलो स्थान हासिल गरिन् । स्पर्धामा नेपाल पुलिस क्लबकी देवांशी जोशी २ मिनेट ४०.७२ सेकेन्डसहित दोस्रो र बागमती प्रदेशकी आर्या महर्जन २ मिनेट ४०.७७ सेकेन्डसहित तेस्रो भए ।
