१४ औँ एनएसए कप सर्ट कोर्स पौडी च्याम्पियनसिपको पहिलो दिन विभिन्न रोमाञ्चक प्रतिस्पर्धा, नयाँ राष्ट्रिय कीर्तिमान र खेलाडीहरूको उत्कृष्ट प्रदर्शन भएको छ ।

प्रतियोगिताको पुरुष १५०० मिटर फ्रिस्टाइलको ‘ए’ फाइनलमा जेम्स स्कुलका मयन श्रेष्ठले १८:१०.३१ समय निकाल्दै प्रथम स्थान हासिल गरेका छन् भने नेपाल पुलिस क्लबका शिवांश मान कायस्थ र नेपाल एपिएफ क्लबका जेसन ना बज्राचार्य-डेविस क्रमशः द्वितीय र तृतीय भएका छन् ।

यसैगरी, पुरुष ४०० मिटर फ्रिस्टाइलमा जेम्स स्कुलकै कल्किन श्रेष्ठले ४:१३.२७ को समयसहित नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितेका छन् ।

पुरुष १०० मिटर बटरफ्लाइमा नेपाल पुलिस क्लबका एरविन श्रेष्ठले ५७.५१ सेकेन्डमा दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान र पहिलो स्थान हात पारेका छन् भने नेपाल आर्मीका आशिम भण्डारी र जेम्स स्कुलका मयन श्रेष्ठले दोस्रो र तेस्रो स्थान प्राप्त गरेका छन् ।

पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा आइरनफिन स्पोट्र्सका जादेन श्रेष्ठले १:०४.५५ को नयाँ राष्ट्रिय कीर्तिमानसहित पहिलो स्थान हात पार्दा पुलिस क्लबका एरविन श्रेष्ठ र जेभियर इन्टरनेसनल स्कुलका आरोन भण्डारी पछि परेका छन् । साथै, ५० मिटर फ्रिस्टाइलमा एरविन श्रेष्ठले २३.८० सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमानसहित पुनः पहिलो स्थान सुरक्षित गरेका छन् ।

महिलातर्फको ८०० मिटर फ्रिस्टाइलमा नेपाल एपिएफ क्लबकी लुमाना महर्जनले ११:४०.२९ समयसाथ प्रथम स्थान हासिल गर्दा निसर्ग बाटिका स्कुलकी आभा वैद्य र नेपाल आर्मीकी सुबी थापा क्रमशः द्वितीय र तृतीय भएकी छिन् ।

महिला २०० मिटर व्यक्तिगत मेडले (IM) मा निसर्ग बाटिका स्कुलकी इरा अमात्याले २:४६.४८ समयमा पहिलो स्थान हात पार्दा जेम्स स्कुलकी श्रेया महर्जन र काव्या स्कुलकी सेरेने अवाले उपविजेता बनेका छन् ।

यसैगरी, १०० मिटर व्यक्तिगत मेडलेमा इरा अमात्या र श्रेया महर्जन दुवैले १:१६.४१ को समय निकाल्दै संयुक्त रूपमा पहिलो स्थान हासिल गरेका छन् । महिला १०० मिटर ब्याकस्ट्रोकमा श्रेया महर्जनले प्रथम स्थान ओगटेकी छिन् भने लुमाना महर्जन र कोशी प्रदेशकी आयेशा पौडेलले क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गरेका छन् । महिला १०० मिटर फ्रिस्टाइलमा नेपाल आर्मीकी दुवाना लामाले १:०१.७६ समयसहित स्वर्ण पदक जितेकी छिन् भने एपिएफकी आर्या महर्जन र द ब्रिटिस स्कुलकी रोयल प्रजापतिले क्रमशः द्वितीय र तृतीय स्थान हासिल गरेका छन् ।

प्रतियोगिताको मिड्क्स ४x५० मिटर फ्रिस्टाइल रिलेको ‘ए’ फाइनलमा प्रविव प्रधान, अनाया श्रेष्ठ, आभा वैद्य र रेवान्तबहादुर श्रेष्ठ सम्मिलित निसर्ग बाटिका स्कुलको टोलीले १:५०.८७ समय निकाल्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

उक्त रिले प्रतिस्पर्धामा नेपाल एपिएफ क्लब द्वितीय र नेपाल आर्मी त्रिभुवन आर्मी क्लब तृतीय स्थानमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *