काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला परिसरमा निर्माण गरिएको अत्याधुनिक पौडी पोखरीको निर्माण कार्य सम्पन्न भएको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी निर्माण गरिएको पौडी पोखरी तयार भएसँगै कर्णालीका पौडी खेलाडीलाई नियमित प्रशिक्षणका लागि सहज हुने भएको छ ।

पौडी खेलका लागि आवश्यक पूर्वाधारको अभाव झेल्दै आएको कर्णालीमा नयाँ पौडी पोखरी निर्माण सम्पन्न हुनु महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

यसअघि नियमित प्रशिक्षणका लागि उपयुक्त पूर्वाधारको अभाव हुँदा खेलाडीले विभिन्न कठिनाइ सामना गर्दै आएका थिए ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रविन्द्र चन्दले पौडी पोखरी निर्माण सम्पन्न भएपछि प्रदेशका पौडी खेलाडीलाई नियमित प्रशिक्षणका लागि सहज हुने बताए ।

उनका अनुसार नयाँ पूर्वाधारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडीको तयारीलाई समेत थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।

“पौडी पोखरी निर्माण भएपछि कर्णालीका पौडी खेलाडीलाई नियमित प्रशिक्षण गर्न सहज हुनेछ । यसले दशौँ राष्ट्रिय खेलकुदका लागि खेलाडीको तयारीलाई पनि थप राम्रो र व्यवस्थित बनाउन सहयोग पुग्नेछ,” सदस्य–सचिव चन्दले भने ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कर्णालीमा पछिल्लो समय खेलकुद पूर्वाधार निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकता दिइएको छ ।

नयाँ पौडी पोखरीले प्रतियोगिताका लागि तयारी गरिरहेका खेलाडीलाई मात्र नभई प्रदेशमा पौडी खेलको आधार फराकिलो बनाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नियमित प्रशिक्षणको अवसर पाएपछि नयाँ प्रतिभाको पहिचान तथा खेलाडीको क्षमता विकासमा समेत योगदान पुग्ने विश्वास गरिएको छ । कर्णालीमा पौडी खेलको सम्भावना रहे पनि पूर्वाधार अभावका कारण खेलाडीले नियमित प्रशिक्षणको अवसर पाउन सकेका थिएनन् ।

अब आफ्नै प्रदेशमा व्यवस्थित पौडी पोखरी उपलब्ध भएपछि खेलाडीलाई प्रशिक्षणका लागि बाहिरी जिल्लामा वा अन्य स्थानमा निर्भर हुनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *