सुनसरीको वराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुरमा शुक्रबारदेखि प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्ड कप रात्रिकालीन फुटबल प्रतियोगिता सुरु भएको छ ।

श्री प्रकाश माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न उद्घाटन खेलमा चुलाचुली स्पोर्टिङ क्लब, झापालाई १-० गोल अन्तरले स्तब्ध पार्दै गछिया युवा समाज, मोरङ विजयी सुरुआत गरेको छ । जितसँगै गछिया प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

खेलको २७औं मिनेटमा गछियाका सुदीप श्रेष्ठले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए । उनलाई ट्रफीसहित नगद रु. २,५०० प्रदान गरियो । 

प्रतियोगिताको उद्घाटन समारोह बराहक्षेत्र-१० का वडा अध्यक्ष तथा प्रकाशपुर युवा जमातका पूर्व अध्यक्ष तेजबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

आयोजकका अनुसार भोलिको दोस्रो क्वार्टरफाइनल खेल गाईघाट युनाइटेड फुटबल क्लब, उदयपुर र पाख्रीबास युथ युनाइटेड, धनकुटाबिच हुनेछ ।

प्रकाशपुर युवा जमातको आयोजनामा सुरु भएको प्रतियोगितामा पूर्वी नेपालका आठ वटा फुटबल टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल असोज ३१ गते हुनेछ ।

प्रतियोगिताको विजेताले दुई लाख २२ हजार २२२ रुपियाँ तथा उपविजेताले एक लाख ११ हजार १११ रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *