काठमाडौं । म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा आठौं माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ३ विधामा ४४ टिमको सहभागिता रहने माफका सदस्य एवं गोल्डेनपिक हाइ स्कुलका प्राचार्य छत्रमणि राईले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सिनियर ब्वाइजमा १५, गल्र्समा १६ र जुनियर ब्वाइजमा १३ टिमले प्रतिस्पर्धा गर्ने छन् । तीनै विधाका सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहमा शीर्ष २ स्थानमा रहने टोली क्वाटरफाइनलमा पुग्ने छन् । गोल्डेनपिकको संयोजन तथा व्यवस्थापनमा हुन लागेको प्रतियोगितामा माफमा आबद्ध विद्यालयका टिमको मात्र सहभागिता रहने छ । माफमा १६ विद्यालय आबद्ध छन् ।

प्रिन्सिपल राईले विद्यालय तहमा बास्केटबल खेलको विकास, विस्तार तथा प्रवद्र्धन गर्नुका साथै विद्यालयमा रहेका प्रतिभावान खेलाडीहरूको पहिचान, क्षमता विकास र खेलप्रतिको रुचि अभिवृद्धि गर्नु प्रतियोगिताको मुख्य उद्देश्य भएको बताए ।

माफले वार्षिक कार्यक्रम अनुसार बास्केटबल, भलिबल, फुटसल प्रतियोगितासहित विविध अत्तिरिक्त क्रियाकलापका प्रतिस्पर्धा गराउदै आएको छ । खेलहरु काठमाडौं महानगरपालिका वडा ६, सरस्वतीनगरस्थित गोल्डेनपिककै कोर्टमा खेलाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *