नेपालले एसिसी प्रिमियर कपको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा नेपालले युएईलाई ४४ रनले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसँगै नेपालले आगामी एसिया कपमा पनि स्थान सुरक्षित गरेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको फाइनल खेलमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको युएई २६९ रनमा समेटियो । उसले निर्धारित ५० ओभरको खेलमा २६९ रनमात्र बनाउन सक्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट शतक प्रहार गरे । उनले १०६ बलमा १०२ रन बनाए । आसिफले आफ्नो शतकीय इनिङ्समा ८ चौका र ४ छक्का प्रहार गरे । उनी हैदर अलीको बलमा क्याच आउट भए ।
अलराउन्डर गुल्सन झाले पनि आक्रामक अर्धशतक बनाए । पाँचौँ क्रममा ब्याटिङमा आएका गुल्सनले ३६ बलमा ३ चौका र ४ छक्कासहित अर्धशतक पूरा गरे । ओपनर अर्जुन कुमालले ४३ रन बनाए । २१ ओभरको अन्तिम बलमा आसिफसँग तालमेल नमिल्दा रनआउट हुनुअघि अर्जुनले ६३ बलमा ६ चौका प्रहार गरेका थिए । उनले आसिफसँग दोस्रो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए ।
नेपालका कप्तान रोहित पौडेलले ४४ बलमा ४० रन बनाए । उनले २ चौका प्रहार गरे । दिपेन्द्रसिंह ऐरीले १८ बलमा १८ रन, इशान पाण्डेले २० बलमा १३ रन तथा करण केसीले २ बलमा १ रन बनाए ।
सन् २०२३ मा पनि फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेर एसिया कपमा छनोट भएको थियो ।
जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँचमध्ये चार खेल जितेको छ भने एक खेलमा पराजित भएको छ । यूएई भने प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको हो ।
