संविधान दिवसको अवसर पारेर ललितपुरको महालक्ष्मी नगरपालिकास्थित काठमाडौं शिक्षालयले बाढीपीडित परिवारको राहतका लागि २५ किलोमिटर लामो बृहत् साइकल र्‍याली आयोजना गर्ने भएको छ ।

महालक्ष्मी नगरपालिकासँगको सहकार्यमा आगामी असोज ३ गते शनिबार बिहान ७:०० देखि १०:०० बजेसम्म यो परोपकारी अभियान सञ्चालन हुन लागेको हो ।

राष्ट्रिय पर्वलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यका साथ यो कदम चालिएको विद्यालयका अध्यक्ष एवं पर्वतारोही प्रकाश राज पाण्डेले बताएका छन् ।

कार्यक्रममार्फत सङ्कलन गरिने सम्पूर्ण आर्थिक सहयोग र राहत सामग्री पारदर्शी रूपमा प्रभावित क्षेत्रका पीडित परिवारसम्म पुर्‍याइनेछ ।

नगर प्रमुख हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यमा हुने यस र्‍यालीमा विद्यार्थी, अभिभावक, शिक्षक र सर्वसाधारण गरी करिब २०० जनाको सहभागिता रहने अनुमान गरिएको छ ।

सहभागीहरूको उमेर र क्षमताअनुसार दूरीलाई तीन भागमा बाँडिएको छ-१० वर्षमुनिका लागि १० किलोमिटर, १५ वर्षसम्मका लागि १५ किलोमिटर र अनुभवीका लागि २५ किलोमिटर निर्धारण गरिएको छ ।

इमाडोलस्थित काठमाडौं शिक्षालयबाट सुरु हुने मुख्य २५ किलोमिटरको रुटले ग्वार्को, बालकुमारी, टिकाथली, बालकोट, लुभु, लामाटार, शंखदेवी मन्दिर र नगरपालिका कार्यालय परिक्रमा गरी पुनः विद्यालय प्राङ्गणमै पुगेर समापन हुनेछ ।

“साइकल चलाऔँ, सहयोग जुटाऔँ, बाढीपीडित परिवारलाई साथ दिऔँ” भन्ने नाराका साथ आयोजना हुन लागेको यस मानवीय अभियानलाई सफल बनाउन आयोजकले सम्पूर्ण नगरवासी तथा संघसंस्थालाई सक्रिय सहभागिताको अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *