इटालियन फुटबल क्लब एएस रोमाले नेपालका बाढीपीडितहरूको सहयोग र जनचेतना अभिवृद्धिका लागि विशेष पहल गर्ने भएको छ ।

युइएफए च्याम्पियन्स लिगअन्तर्गत टर्कीको क्लब फेनरबाचे  विरुद्धको खेलमा रोमाका खेलाडीहरूले नेपालप्रति समर्थन जनाउने सन्देश अंकित विशेष जर्सी लगाएर मैदानमा उत्रने भएका छन् ।

युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार इस्तानबुलमा हुने आफ्नो पहिलो खेलका लागि रोमाका खेलाडीहरूले “टुगेदर फर नेपाल” भन्ने वाक्यांश र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको लोगो अंकित जर्सी लगाउनेछन् ।

टर्कीमा खेलकुदसम्बन्धी सट्टेबाजी वा जुवा खेलाउने कम्पनीका लोगो तथा नामहरू टोलीको पोसाकमा प्रदर्शन गर्न प्रतिबन्ध रहेकाले रोमालाई साविक प्रायोजकको लोगो राख्न रोक लगाइएको थियो । त्यसपछि क्लबले यो अवसरलाई परोपकारी कार्यमा उपयोग गर्ने निर्णय गरेको हो ।

क्लबले उक्त खेलमा प्रयोग गरिएका जर्सीहरूको लिलामी गरी सङ्कलित रकम रोममा मुख्यालय रहेको संयुक्त राष्ट्रसंघको निकाय विश्व खाद्य कार्यक्रममार्फत नेपालका बाढीपीडित राहत कोषमा प्रदान गर्नेछ ।

“बाढी र पहिरोबाट नराम्ररी प्रभावित भएका नेपाली जनतालाई सहयोग गर्न एएस रोमा र विश्व खाद्य कार्यक्रमएकजुट भएका छन्,” रोमाले आफ्नो आधिकारिक वेबसाइटमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जियालोरोसीका खेलाडीहरूले जर्सीको अगाडिको भागमा विश्व खाद्य कार्यक्रमको लोगो अंकित गरी मैदानमा उत्रनेछन् । यस कदमले संकटप्रति विश्वको ध्यानाकर्षण गराउनुका साथै प्रभावित समुदायको सहयोगमा डब्लुएफपीले गरिरहेको कामको प्रचारप्रसारमा समेत मद्दत पुग्नेछ ।”

गत महिना पहाडी हिमनदीको एक भाग भत्किँदा पानी र हिलोको विशाल भेल नेपालका रसुवा र नुवाकोट क्षेत्रका साथै चीनको तिब्बत क्षेत्रमा बगेको थियो । जलवायु परिवर्तनको प्रभावका कारण निम्तिएको उक्त विनाशकारी बाढीमा परी १,३०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ५,००० भन्दा बढी अझै बेपत्ता छन् ।

च्याम्पियन्स लिगमा मौनधारण र सहयोगको लहर

मंगलबार र बुधबार सुरु भएको च्याम्पियन्स लिगको नयाँ सिजनका सबै खेलहरूमा नेपालका बाढीपीडितहरू प्रति सम्मान व्यक्त गर्दै मौनधारण गरिएको थियो । खेल सुरु हुनुअघि खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा दर्शकहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए भने रंगशालाका डिजिटल स्क्रिनहरूमा बाढीपीडितको समर्थनमा सन्देशहरू प्रदर्शन गरिएका थिए ।

यसैबीच, इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले पनि ‘आर्सनल फाउन्डेसन’ र आफ्नो परोपकारी साझेदार संस्था ‘सेभ द चिल्ड्रेन’ मार्फत नेपालका बाढीपीडितहरूका लागि राहत सहयोग उपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *