काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २३औं संस्करण भोलि भदौ १८ गते बिहीबार राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको ब्लु पभेलियन हलमा आयोजना हुँदै छ । मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुरेशराज महर्जनबीच सम्झौतापत्र आदानप्रदान भएको छ । बैंकिक पार्टनरका रूपमा जोडिएको सिद्धार्थ बैंकले केवल औपचारिक प्रायोजनमा सीमित नभइ खेलकुदको समग्र विकास, प्रतिभा पहिचान, अवसर सिर्जना र प्रतिस्पर्धात्मक वातावरण निर्माणमा केन्द्रित प्रयास गर्दै आएको छ ।
खेलकुदले युवाको प्रतिभा र क्षमता विकास गर्नुका साथै राष्ट्रको पहिचान र गौरवलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने महत्वपूर्ण माध्यमको भूमिका निर्वाह गर्दछ भन्ने बैंकको धारणा रहेको छ । मञ्च नेपाली खेल पत्रकारहरूको छाता संगठन हो । नेपाली खेलकुद क्षेत्रको सर्वाधिक महत्वको कार्यक्रमको रूपमा रहेको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ मा खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान र पुरस्कृत गरिनेछ । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा ९ विधामा प्रदान गरिनेछ । त्यसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, पारा एथलिट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ ।
पिपल्स च्वाइससहित पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसको मनोनयनमा फुटबलकी पूजा राना, मिक्स मार्सल आर्ट्स (एमएमए) का रवीन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मीना सुनार र करातेकी सानुमाया थिङ प्रतिस्पर्धामा छन् । मनोनयनमा परेका खेलाडीका लागि डिजिटल वालेट खल्ती बाई आईएमई, एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड र पल्सर नेपालको फेसबुक पेजबाट मत दिन आज बुधबार रातिसम्म मात्र मत दिन सकिनेछ ।
