चौथो संस्करणको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सिराहाको सलहेस युवा क्लबले जितेको छ । सलहेसले यसअघि तेस्रो ताप्लेजुङ गोल्डकपको उपाधि जितेको थियो ।
भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा फिदिम स्पोर्टिङ क्लबलाई १–० गोलले पराजित गर्दै सलहेसले उपाधि जितेको हो ।
उपाधिसँगै सलहेसले ७ लाख २ हजार ८३ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता फिदिम स्पोर्टिङ क्लबले ३ लाख २ हजार ८३ रुपैयाँ चित्त बुझाएको छ ।
सलहेसको जितमा फागुराम थारुले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनले खेलको ७०औं मिनेटमा गोल गरेका थिए ।
फाइनल खेलको म्यान अफ दि म्याच सलहेसका सनिश श्रेष्ठ भए र उनले ७ हजार मूल्य बराबरको अलैंची प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट गोल किपर सलहेसका दिपक कार्की, वेष्ट डिफेन्डर सलहेसकै अभिसेक लिम्बू, वेष्ट फरवार्ड फिदिमका विजय सोहाङ, वेष्ट कोच सिरहाका राजीवकुमार यादव र उदयमान खेलाडीको उपाधि ताप्लेजुङ ११ का शिशिर राई घोषित भए भने यो प्रतियोगिताका सबैभन्दा बढी गोल गर्ने फागुराम थारु भए । उनीहरु सबैले १५ हजारका दरले पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने फिदिमका टिम क्याप्टेन अनुकेश शेर्मा चुनिए । उनले बजाज पल्सर १२५ सिसिको मोटरसाइकल प्राप्त गरे ।
प्रतियोगिताका विजेता तथा उपविजेतालाई प्रतिनिधिसभा सदस्य क्षितिज थेबे, कोशी प्रदेश सभाका सदस्य तथा पूर्व उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम लगायतले पुरस्कार राशि, ट्रफी, पदक र प्रमाणपत्र वितरण गरेका थिए ।
