मोरङ ग्रामथानको नवआरम्भ नेपालको आयोजनामा सम्पन्न प्रथम यु-१५ इन्टर स्कुल फुटबल प्रतियोगिताको उपाधि गोदावरी स्कुल, विराटनगरले जितेको छ ।
शनिबार ग्रामथान-१ लखन्तरीस्थित नडियाटोकको खेलमैदानमा भएको फाइनलमा खेलमा झोराहाटको शारदा स्कुललाई ४–० गोलअन्तरले पराजित गर्दै गोदावरी स्कुलले उपाधि हात पारेको हो ।
प्रतियोगिताको विजेता टोली गोदावरी स्कुल र उपविजेता टोली शारदा स्कुल दुबै टोलीले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा गोदावरी स्कुलका रोशन मेहता सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक घोषित भए । त्यसैगरी उत्कृष्ट डिफेन्डर शारदा स्कुलका गौरव सरदार, सार्वधिक गोलकर्ता विरेन्द्र मावि, लखन्तरीका शिवा मण्डल र उदयीमान खेलाडी शारदा स्कुलका निकेश माझी घोषित भए ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि कोशी प्रदेश, मोरङ क्षेत्र नं. ४ का माननीय सांसद सन्तोष राजवंशी, ग्रामथान गाउँपालिकाका अध्यक्षमा नमोनारायण माझी लगायतले गर्नु भएको थियो ।
प्रतियोगितामा मोरङका सरकारी र नीजि १२ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई आयोजक नवआरम्भ नेपालका अध्यक्ष प्रमोद राना मगरले धन्यवाद ज्ञापन गर्नु भयो ।
स्थानीय विद्यालयका प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै विद्यालयस्तरीय फुटबलको विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यले आयोजित प्रतियोगितालाई निरन्तरता दिने आयोजकले जनाएको छ ।
