नेपाल भलिबल लिगमा काठमाडौं रेड्सले तेस्रो जित निकालेको छ ।
बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा काठमाडौं रेड्सले कर्णाली शिवराजलाई ३-१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेट २८-२६ ले जितेको काठमाडौं रेड्सले दोस्रो सेट २५-१८ ले जितेको थियो । काठमाडौं रेड्सले तेस्रो सेट भने २३-२५ ले कर्णाली शिवराजलाई सुम्पिएको थियो । तर, चौथो सेटमा काठमाडौं रेड्सले कर्णालीमाथि २५-२१ को जित निकालेको हो ।
लिगमा काठमाडौं रेड्सको यो लगातार तेस्रो जित हो । पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किंग्ससँग ३-० को सोझो सेटमा पराजित काठमाडौं रेड्सले दोस्रो खेलमा मधेश वारियर्सलाई ३-२ को सेटमा र सगरमाथा स्म्यासर्सलाई ३-१ को सेटमा हराएको थियो ।
कर्णाली शिवराजको भने यो पहिलो हार हो । पहिलो खेलमा अन्नपूर्ण किंग्सलाई ३-० को सोझो सेटमा, दोस्रो खेलमा खप्तड फाल्कन्सलाई ३-० र तेस्रो खेलमा सगरमाथा स्म्यासर्सलाई ३-२ को सेटमा पराजित गरेको थियो ।
