नेपाल भलिबल लिग (एनभिएल) अन्तर्गत बुधबारको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्सले खप्तड फाल्कन्सलाई पराजित गरेको छ।

यो खेलमा हार बेहोर्दै खप्तड फाल्कन्स भने प्रतियोगिताबाट बाहिरिएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको खेलमा ३-० को सोझो सेटमा पराजित गरेको हो।

अन्नपूर्ण स्पाइकर किङ्सले खप्तड फाल्कन्सलाई २५-१५,२५-१५ र २९-२७ ले हरायो।

प्रतियोगितामा अन्नपूर्ण स्पाइकर किंग्सको यो तेस्रो जित हो। जितसँगै अन्नपूर्ण किंग्स ४ खेलबाट ९ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको अन्नपूर्ण किंग्सले दोस्रो खेलमा काठमाडौं रेड्स र तेस्रो खेलमा मधेश वारियर्सलाई पराजित गरेको थियो।

यता लगातार चार हारसँगै खप्तड फाल्कन्स प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ। खप्तड फाल्कन्स यसअघि पहिलो खेलमा सगरमाथा स्म्यासर्स, दोस्रो खेलमा कर्णाली शिवराज र तेस्रो खेलमा मधेश वारियर्ससँग समान ३-० को सोझो सेटमा पराजित भएको थियो।

जारी प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन्। सहभागी टिमले पहिले सिंगल राउन्ड रोबिन लिगका आधारमा खेल्ने छन्।

लिगमा शीर्ष स्थानमा रहने टिम फाइनलमा प्रवेश गर्नेछ। दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन्।

नेपाल भलिबल लिगको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ। विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल भदौ २८ मा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *