काठमाडौँ । अग्रवाल सेवा केन्द्रअन्तर्गत सक्रिय अग्रवाल युवा मञ्च (एवाईएम), काठमाडौँको आयोजनामा ‘एवाईएम खेल महोत्सव-२०२६’ को तेस्रो संस्करण विशालनगरस्थित धन्वन्तरी स्पोर्ट्स हबमा औपचारिक रूपमा सुरु भएको छ ।

२७ गतेसम्म सञ्चालन हुने यस तीनदिने खेल महोत्सवमा देशका विभिन्न स्थानबाट खेलाडी तथा खेलप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको छ । महोत्सवको पूर्वसन्ध्यामा भदौ २४ गते बुधबार राति कमलपोखरीस्थित अग्रवाल सेवा केन्द्रको केन्द्रीय भवनमा आयोजित भव्य कार्यक्रमका बिच नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले प्रतियोगिताको ट्रफी अनावरण गरेका हुन् ।

ट्रफी अनावरण गर्दै पूर्वकप्तान मल्लले मारवाडी समुदाय व्यावसायिक क्षेत्रमा मात्र सीमित नरही खेलकुदको विकास, प्रवर्द्धन र सक्रियतामा समेत अगाडि बढेको देख्दा खुसी लागेको बताए ।

यस वर्षको महोत्सवमा इनडोर क्रिकेट, इनडोर फुटसल, ब्याडमिन्टन, स्विमिङ, टेबल टेनिस र पुल गरी छ वटा खेलहरू समावेश गरिएका छन्, जसमा ब्याडमिन्टन र टेबल टेनिसतर्फ पुरुष, महिला तथा बालबालिका वर्गमा छुट्टाछुट्टै प्रतिस्पर्धा भइरहेको छ भने स्विमिङमा पाँच वर्षमाथिका सबै उमेर समूहका खेलाडीहरू सहभागी छन् ।

उत्कृष्ट प्रदर्शन गर्ने विजेताहरूका लागि नगद पुरस्कारको समेत व्यवस्था गरिएको प्रतियोगितामा मारवाडी समाजका युवाहरूलाई खेलकुदमार्फत स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने, नयाँ प्रतिभाको पहिचान तथा विकास गर्ने र युवाहरूबीच आपसी भाइचारा एवं एकता कायम गर्ने मूल उद्देश्य राखिएको छ । विगतका दुई संस्करणको सफलता र प्राप्त सकारात्मक प्रतिक्रियालाई आत्मसात् गर्दै आयोजक अग्रवाल युवा मञ्चका महासचिव करण अग्रवालले यस वर्षको आयोजनालाई थप भव्य, व्यवस्थित र सहभागितामूलक बनाइएको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *