अर्जेन्टिनी सुपरस्टार लिओनल मेसीले विश्वकपपछि पहिलो पटक दुई गोल गर्दै इन्टर मियामीलाई लिग्स कपमा प्रभावशाली जित दिलाएका छन्। बिहीबार बिहान वर्षाकाबीच सम्पन्न खेलमा इन्टर मियामीले सुरुआती गोलले पछि परेको अवस्था उल्टाउँदै एट्लेटिको सान लुइसलाई ४-२ ले पराजित गरेको हो । चट्याङका कारण दोस्रो हाफ करिब ३० मिनेट रोकिएको थियो ।
मियामीस्थित नु स्टेडियममा सम्पन्न खेलमा मियामीका लागि मेस्सीले दुई गोल गर्दा टेलास्को सेगोभियाले एक तथा मिकाएलले एक गोल थपे । सान लुइसका डेभिड रोड्रिगो र राफाले समान एक–एक गोल फर्काए ।
मेस्सीले खेलको ११औँ र ४४औँ मिनेटमा गोल गरे । पहिलो हाफको अतिरिक्त समयको सातौँ मिनेटमा मिकाएलले गोल थपेपछि मियामीले पहिलो हाफमै ४–१ को सहज अग्रता बनाएको थियो । यसअघि टेलास्को सेगोभियाले पनि एक गोल गरेका थिए ।
दोस्रो हाफमा सान लुइसले एक गोल फर्काए पनि खेलमा पुनरागमन गर्न सकेन । अन्ततः मियामीले ४–२ को जित निकाल्दै प्रतियोगितामा पहिलो खेलबाटै तीन अंक जोड्न सफल भयो ।
