ताप्लेजुङको सदरमुकाम फुङलिङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा फिदिम स्पार्टिङ क्लब पाँचथर सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको दोस्रो क्वाटरफाइनल खेलमा चित्लाङ फुटबल क्लब काठमाडौंलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै पाँचथर फाइनलमा प्रवेश गरेको हो ।
खेलको निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । शनिबार भएको खेलमा पाँचथरका गोलकिपर मिराक खजुम म्यान अफ दि म्याच भए । उनले नगद ७ हजार रुपैयाँ प्राप्त गरे ।
फुङलिङस्थित भानु जन माध्यमिक विद्यालयको खेलमैदानमा भदौ १९ गतेसम्म सञ्चालन हुने खेलमा आठ वटा टिमको सहभागिता रहेको छ ।
आइतबार हुने तेस्रो क्वाटरफाइनल खेलमा सातदोबाटो फुटबल क्लब र साविक विजेता सलहेश युवा क्लब सिराहाबिच प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रबार भएको उद्घाटन खेलमा आयोजक–११ ताप्लेजुङलाई २–१ गोल अन्तरले पराजित गर्दै भारतको जर्जियन युनाइटेड फुटबल क्लबले सेमिफाइनलको यात्रा तय गरिसकेको छ ।
लाखेजात्राको अवसरमा हरेक वर्ष सञ्चालन हुँदै आइरहेको प्रतियोगिता २०८० सालदेखि ताप्लेजुङ गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको छ । प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार ८३ रुपैयाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल उपलब्ध गराइने सञ्चालन समितिका कोषध्यक्ष दावा शेर्पाले बताउनुभयो । योसँगै विभिन्न विधाका उत्कृष्ट खेलाडी र हरेक दिनको म्यान अफ दि म्याच खेलाडीलाईसमेत नगद पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
यस्तै भाग्यशाली एक जना दर्शकले स्कुटर उपहार पाउने भएको छ । टिकट काटेर खेल हेर्ने भाग्यशाली एक जना दर्शकले टीभीएस कम्पनी नयाँ स्कुटर उपहारस्वरूप प्राप्त गर्ने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ
