सुनसरी । सुनसरीको रामधुनीस्थित झुुम्कामा जारी झुम्का च्यालेन्ज कप फुटबल प्रतियोगितामा मधेसा युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार पिप्राहा मैदानमा भएको चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा विराटनगर स्पोर्ट्स एकेडेमीलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै मधेसाले अन्तिम ४ मा स्थान बनाएको हो ।
अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय १-१ को बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरमार्फत टुंगिएको हो ।
निर्धारित समयको खेलमा मधेसाले दोस्रो हाफको १२औं मिनेटमा शिशिर लेखीको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफको ३१औं मिनेटमा विराटनगरले बराबरी गोल फर्कायो । उसका लागि उमेश कार्कीले गोल गरे ।
खेलको म्यान अफ द म्याच विजेता टिम मधेसाका शिशिर लेखी भए । उनले नगद १,१११ रुपैयाँ पुरस्कार प्राप्त गरे । च्यालेन्ज कपमा बिहिवार आयोजक झुम्का एफसी ‘ए’ र धरान-५ स्पोर्टिङ क्लबबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।
झुम्का फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा आयोजक सहित सुनसरी, मोरङ र आसपासका क्षेत्रका आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भदौ १४ गते हुनेछ ।
