ताप्लेजुङको सदरमुकाम फुङलिङमा शुक्रबारदेखि शुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा भारतको जर्जियन युनाइटेड फुटबल क्लबले विजयी सुरुआत गरेको छ ।

शुक्रबार भानुजन माविको खेलमैदानमा भएको उद्घाटन खेलमा आयोजक ताप्लेजुङ -११ लाई २–१ गोल अन्तरले पराजित गर्दै जर्जियन सेमिफाइनलमा प्रवेश गरेको हो ।

जर्जियनका लागि पहिलो हाफको इन्जुरी समयमा कुञ्जमान थापाले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५५औं मिनेटमा कुञ्जमानले नै पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए ।

प्रतिस्पर्धात्मक खेलमा ताप्लेजुङले पाएको अवसर सदुपयोग गर्न सकेको थिएन । तर, खेलको ६६औं मिनेटमा दिपेश लिम्बूले गोल गर्दै खेलमा फर्कने प्रयास गरेका थिए ।

खेलको म्यान अफ दी म्याच गोलकर्ता कुञ्जमान थापा भए । उनले नगद ७ हजार र ट्रफी पाए । ८ टिम सहभागी रहेको प्रतियोगितामा शनिबार चित्लाङ फुटबल क्लब र फिदिम स्पार्टिङ क्लब पाँचथरबीच दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।

लाखेजात्राको अवसरमा हरेक वर्ष सञ्चालन हुँदै आइरहेको प्रतियोगिता २०८० सालदेखि ताप्लेजुङ गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको छ । प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार ८३ रुपैयाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल उपलब्ध गराइने सञ्चालन समितिका कोषध्यक्ष दावा शेर्पाले बताउनुभयो । योसँगै विभिन्न विधाका उत्कृष्ट खेलाडी र हरेक दिनको म्यान अफ दि म्याच खेलाडीलाईसमेत नगद पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

यस्तै भाग्यशाली एक जना दर्शकले स्कुटर उपहार पाउने भएको छ । टिकट काटेर खेल हेर्ने भाग्यशाली एक जना दर्शकले टीभीएस कम्पनी नयाँ स्कुटर उपहारस्वरूप प्राप्त गर्ने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *