अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० सिरिजमा नेपाल ‘ए’ले लगातार दोस्रो पराजय व्यहोरेको छ ।

शनिबार डार्विनस्थित मरारा क्रिकेट मैदानमा बंगलादेश हाई प्रफर्मेन्स टिमले नेपाललाई नौ विकेटले निराश बनाएको हो ।

नेपालले प्रस्तुत गरेको १०० रनको लक्ष्य बंगलादेशले १०.२ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्‍यो ।

बंगलादेशको जिशन आलमले अविजित ५२ रनको योगदान गरे । उनले २९ बलमा चार छक्का र तीन चौका प्रहार गरे । अरिफुल इस्लाम ३४ रनमा अविजित रहे ।

नेपालका निम्ति एक मात्र विकेट साहब आलमले लिए । त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९९ रन बनाएको थियो ।

नेपालका निम्ति कुशल भुर्तेलले सर्वाधिक ४६ रनको योगदान गरे । उनले ४० बलमा तीन चौका र एक छक्का प्रहार गरे । विपीन खत्रीले अविजित ११, साहब आलमले ११ र रिजन ढकालले १० रन बनाए ।

बंगलादेशका एमडी रुबेलले चार तथा रिपोन मण्डल, रोहनत डोउल्लाह ब्रोसन र समिउन बसिरले एक/एक विकेट लिए ।

नेपालले यसअघि आयोजक नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग आठ विकेटको हार व्यहोरेको थियो । अब नेपालले सोमबार होबर्ट हुरिक्यास एकेडेमीको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *